७ जेष्ठ २०८१, सोमबार

अपाङ्गता भएका मतदाताको माग– अपांगमैत्री मतदान केन्द्र बनाऊ



धनगढी । अपाङ्गता भएका मतदाताहरूले सबै मतदान केन्द्रहरूलाई अपाङ्गमैत्री बनाउन सम्वद्ध पक्षको ध्यानाकर्षण गरेका छन् ।
अपाङ्गता भएका व्यक्तिहरूले मतदान केन्द्रमा पुग्न, मतपत्रमा छाप लगाउन र मतपेटिकामा खसाल्न सहज हुने ढंगबाट मतदान केन्द्र बनाउन माग गरे ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, प्रदेश नम्बर ७ को आयोजनामा बिहीबार धनगढीमा भएको एक भेलाले २०७० सालको संविधान सभा निर्वाचनमा मतदान केन्द्रहरूलाई अपाङ्गमैत्री बनाउने भनिए पनि नबनाइएकोप्रति सम्वद्ध निकायको ध्यानाकर्षण गरेको छ ।
भेलामा महासंघका अध्यक्ष भीमबहादुर शाहले ‘निर्वाचनमा मतपत्र लिने ठाउँसम्म मात्र र्‍याम्प बनाएर मतदान केन्द्र अपाङ्गमैत्री नहुने’ बताए । ‘मतदान केन्द्रमा लाइन लाग्नेदेखि मतपत्रमा छाप लगाउने र मतपेटिकामा खसाल्नेसम्मका सबै पक्ष अपाङ्गमैत्री हुनु पर्छ ।
उनले अपाङ्गता भएका व्यक्तिहरूले मत हाल्न जाने क्रममा लाइनमा बस्नु नपर्ने, मत पेटिकासम्म पुग्न र्‍याम्पको व्यवस्था गर्नु पर्ने र ब्रेललिपी र सांकेतिक मतपत्रको प्रबन्ध हुनुपर्ने बताए ।
कैलालीमा आठ हजार बढी अपाङ्गता भएका मतदाता रहेको महासंघले जनाएको छ । महासंघका अध्यक्ष शाहले २०७० सालको संविधान सभा निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूले मतदान गर्दा अरूको सहायता लिनुपरेको स्मरण गर्दै भने– ‘अहिले पनि निर्वाचन कार्यालयले मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउछु भनेर आश्वासन त दिएको छ, तर व्यवहारमा लागू हुन्छ भन्नेमा विश्वास लागेको छैन ।’
अपाङ्गता भएका व्यक्तिको अधिकारका क्षेत्रमा क्रियाशील नन्दराज भट्टले मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउन कसैले पनि ध्यान नदिएका कारण अधिकांस मतदाता मताधिकार प्रयोगबाट बञ्चित हुनुपरेको चर्चा गरे ।
उनले मतदान केन्द्रमा र्‍याम्प मात्रै राख्दैमा सबै आठ प्रकारका मतदातालाई सहज नहुने बताए ।
यसैबीच, निर्वाचन कार्यालय धनगढीले जिल्लाका केही स्थानमा र्‍याम्प सहितको मतदान केन्द्र बनाइएको जानकारी दिएको छ ।
कैलालीका निर्वाचन अधिकृत मोहन अर्यालले मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउन हरसम्भव प्रयास गरिरहेको बताए ।
निर्वाचन अधिकृत अर्यालले मतदान गर्न जाँदा अपाङ्गता भएका व्यक्ति, अशक्त, वृद्धवृद्धा लगायतलाई मतदान केन्द्रमा लाइनमा नबसेर सहजै मतदान गर्न सक्ने विशेष व्यवस्था मिलाइएको बताए ।
कैलालीमा दुई सय ३१ मतदानस्थल र चार सय ९० मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार