स्थानीय तह निर्वाचन : आइतबारदेखि मतदाता परिचयपत्र वितरण हुँदै
धनगढी । आगामी १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आइतबारदेखि मतदाता परिचयपत्र वितरण हुने भएको छ । दोस्रो चरणमा प्रदेश नम्बर ७ सहित तीन प्रदेशमा निर्वाचन हुँदैछ ।
क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण गरिने जनाएको छ ।
निर्वाचन कार्यालयले आइतबारदेखि मंगलबारसम्म तीन दिन परिचयपत्रसँगै मतदान केन्द्रबाटै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।
कार्यालयले सही मतदानबारे जानकारी दिन मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा पनि दिन लागेको जनाएको छ ।
मत बदर हुन नदिने र सही तरिकाले मत बाकसमा खसाल्न सिकाउने निर्वाचन अधिकृत मोहनराज अर्यालले जानकारी दिए । उनका अनुसार यसपटक एउटै मतपत्रमा सात लहरमा निर्वाचन चिन्ह राखिएका छन् । हरेक मतदाताले प्रत्येक कोठामा एउटा मात्र स्वस्तिक छाप लगाउनुपर्ने हुन्छ ।
यसरी लगाएको छाप, पहिलो लहरमा नगरपालिका वा गाउँपालिकाको प्रमुखका लागि हुने, दोस्रोमा उपप्रमुखका लागि र तेस्रोमा वडाध्यक्षका लागि हुनेछ ।
त्यस्तै, चौथो लहरमा महिला सदस्य र पाँचौ लहरमा दलित महिला सदस्यका लागि छाप लगाउनु पर्नेछ ।
पछिल्लो छैटौं र सातौं लहरमा भने खुला वडा सदस्यका लागि छाप लगाउनु पर्नेछ । यसमा मतदाताको इच्छा अनुसार छैठौ कोठामा मात्र वा सातौंमा मात्र लगाउन सकिने वा छैटौं र सातौं दुवैमा एक/एक वटा छाप लगाउन पनि सकिने निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयले मतदातालाई आइतबारदेखि मंगलबारसम्ममा मतदान केन्द्रबाट आफ्नो मतदाता परिचयपत्र लिन आग्रह गरेको छ । मतदाता परिचयपत्र लिन आउँदा आफ्नो परिचय खुल्ने नागरिकता वा अन्य परिचयपत्र अनिवार्य आवश्यक रहने छ ।
कार्यालयका अनुसार १० गतेसम्ममा सबै मतदान केन्द्रमा कर्मचारी खटाइने र ११ गतेदेखि मतदाता परिचयपत्र वितरण काम पुरा हुने छ ।
११ गते रातिको १२ बजेदेखि मौन अवधि रहेको छ ।
क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार कैलालीमा चार लाख तीन हजार दुई सय ८० मतदाता रहेका छन् ।
धनगढी उपमहानगरपालिकामा ७६ हजार चार सय ३० मतदाता रहेका छन् । त्यस्तै, टीकापुर नगरपालिकामा ३९ हजार एक सय ९२, लम्की चुहा नगरपालिकामा ३९ हजार दुई सय ६५, घोडाघोडी नगरपालिकामा ३९ हजार छ सय ८९, भजनी नगरपालिकामा २६ हजार नौ सय ५२, गौरीगंगा नगरपालिकामा २८ हजार चार सय ७९ र गोदावरी नगरपालिमा ४१ हजार आठ सय २९ मतदाता रहेका छन् ।
यसैगरी, कैलारी गाउँपालिकामा २९ हजार नौ सय ९६, बर्दगोरिया गाउँपालिकामा १५ हजार सात सय, जोशीपुर गाउँपालिमा १९ हजार तीन सय ६५, जानकी गाउँपालिकामा २७ हजार चार सय ५८, चुरे गाउँपालिकामा नौ हजार सात सय ४६ र मोहन्याल गाउँपालिकामा नौ हजार दुई सय १७ मतदाता रहेका छन् ।