१८ बैशाख २०८१, मंगलवार

कैलालीमा तीन मेयरसहित ४१ जनाले लिए उम्मेदवारी फिर्ता



धनगढी । असार १४ मा हुने स्थानीय तहको निर्वाचनमा कैलालीका विभिन्न तहमा उम्मेदवारी दर्ता गराएका तीन जना मेयर पदका उम्मेदवारसहित ४१ जनाले मंगलबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन चाहने व्यक्तिलाई दिएको समयभित्र मंगलबार बिहान ८ देखि साढे ११ बजेको समयमा उनीहरूले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले जनाएको छ ।
यसरी फिर्ता लिनेमा तीन जना मेयर पदका उम्मेदवार, १४ जना वडाध्यक्ष पदका उम्मेदवार र २४ जना वडासदस्य पदका उम्मेदवार रहेका छन् ।
मेयर पदको उम्मेदवारी फिर्ता लिनेमा घोडाघोडी नगरपालिकामा थरुहट तराई पार्टी तर्फबाटका उम्मेदवार रामबहादुर डंगौराथारू र परिवार दलतर्फबाटका उम्मेदवार योगेन्द्रबहादुर बिष्ट र लम्कीचुहा नगरपालिकामा परिवार दलतर्फबाटका अमृतबहादुर कामी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वडाध्यक्ष पदको उम्मेदवारी फिर्ता लिनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ का कृष्ण मल्ल र कृष्ण कुँवर तथा वडा नम्बर १६ का निर्मल ओझा र वडा नम्बर १८ का गोपाल वस्नेत रहेका छन् । वडाध्यक्षबाट उम्मेदवारी फिर्ता लिने यिनीहरू चारै जना नेपाली कांग्रेसतर्फबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
त्यस्तै, बर्दगोरिया गाउँपालिका, भजनी नगरपालिका र गौरीगंगा नगरपालिकाबाट एक/एक जनाले तथा घोडाघोडी नगरपालिकाबाट दुई जनाले, लम्कीचुहा नगरपालिकाबाट दुई जनाले र टीकापुर नगरपालिकाबाट दुई जनाले वडाध्यक्ष पदको उम्मेदवारबाट आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
यसरी उम्मेदवारी फिर्ता लिनेमा बर्दगोरिया गाउँपालिकाका राप्रपातर्फबाटका उम्मेदवार, घोडाघोडी नगरपालिकाका नयाँ शक्ति पार्टीतर्फबाटका उम्मेदवार, लम्कीचुहा नगरालिकाका नयाँ शक्ति र जनमोर्चातर्फबाटका उम्मेदवार हुन भने अन्य स्वतन्त्र तर्फका उम्मेदवार रहेका छन् ।
यसैगरी वडासदस्यको उम्मेदवारबाट उम्मेदवारी फिर्ता लिनेमा लम्कीचुहा नगरपालिकाबाट आठ जना, बर्दगोरीया गाउँपालिकाबाट दुई जना, कैलारी गाउँपालिकाबाट तीन जना, घोडाघोडी नगरपालिकाबाट तीन जना, चुरे गाउँपालिकाबाट दुई जना, भजनी नगरपालिकाबाट चार जना, टीकापुर नगरपालिकाबाट एक जना र जोशीपुर गाउँपालिकाबाट एक जना गरी २५ जना रहेका छन् ।

 

कैलालीमा झण्डै साढे तीन हजार उम्मेदवार चुनावी मैदानमा
कैलालीका १३ वटा स्थानीय तहमा गरी तीन हजार ४६१ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार अन्तिम नामावली प्रकाशन गरेको छ । यहाँ एक उपमहानगरपालिका, छ वटा नगरपालिका र छ वटा गाउापालिका गरी १३ वटा स्थानीय तह रहेका छन् ।
यसमध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा चार सय ९६ जना रहेका छन् भने सबैभन्दा कम चुरे गाउँपालिकामा एक सय २९ जना चुनावी मैदानमा उत्रेका छन् ।
यसैगरी, टीकापुर नगरपालिकामा दुई सय ८४ जना, घोडाघोडी नगरपालिकामा तीन सय ६५ जना, लम्कीचुहा नगरपालिकामा तीन सय ६ जना, गौरीगंगा नगरपालिकामा दुई सय ९२ जना र भजनी नगरपालिकामा दुई सय ७५ जना चुनावी मैदानमा उत्रेका छन् ।
त्यस्तै कैलारी गाउँपालिकामा दुई सय ७३ जना, जानकी गाउँपालिकामा दुई सय ७२ जना, बर्दगोरीया गाउँपालिकामा एक सय ६९, जोशीपुर गाउँपालिकामा दुई सय ४ जना र मोहन्याल गाउँपालिकामा एक सय ३२ जना उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार