१८ बैशाख २०८१, मंगलवार

संवैधानिक परिषदको बैठकमा प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेन



काठमाडौं । संवैधानिक परिषदको सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकमा प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेका कामु प्रधानन्यायाधीश गोपाल पराजुली बारे थप अध्ययन गर्न समय माग गरेका छन् ।
अध्यक्ष ओलीले अध्ययनका लागि भन्दै समय माग गरेपछि बैठक असार १५ गते बस्ने गरी स्थगित भएको बताइएको छ । ओलीले कामु न्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र उमेर बारे विवाद रहेको कुरा बैठकमा उठाएका थिए ।
आजको बैठकमा न्याय परिषदले सिफरिस गरेका ६ जना मध्येबाट प्रधानमन्त्री देउवाले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव पेश गरेका थिए ।
नेपालको संविधानको धारा २८४ मा प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ । जसमा प्रधानमन्त्री अध्यक्ष तथा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहने प्रावधान छ ।
प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषद्मा कानुन तथा न्यायमन्त्री सदस्यका रूपमा रहने व्यवस्था छ ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार