१८ बैशाख २०८१, मंगलवार

स्थानीय तह निर्वाचन–२०७४ : शान्तिपूर्ण र उत्साहजनक वातावरणमा मनोनयनपत्र दर्ता



धनगढी । स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि आइतबार कैलालीमा शान्तिपूर्ण तथा उत्साहजनक वातावरणमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्य भएको छ ।
निर्वाचन आयोगले बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयतालिका निर्धारण गरेको थियो ।
कैलालीमा एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिकाका लागि प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरू गरी छ सय ५६ जना जनप्रतिनिधि निर्वाचित हुने छन् ।
जिल्ला सबै १३ स्थानीय तहमा उम्मेदवारी दर्ता गर्न विभिन्न राजनीतिक दलले बाजागाजासहितको र्‍याली निकालेर निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए ।
कैलालीमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, नेपाल मजदूर किसान पार्टी, परिवार दल, नेकपा (माले) लगायत राजनीतिक दलका उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गराएका थिए । धनगढी उपमहानगरपालिका लगायत केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले पनि मनोनयनपत्र दर्ता गराएका छन् ।
धनगढी उपमहानगरपालिकामा बिहानदेखि विभिन्न राजनीतिक दलले बाजागाजा, नाचगान, नारा सहित ठूला र्‍याली निकालेर मनोनयनपत्र दर्ता गराएका थिए ।
उपमहानगरपालिमा नेपाली काँग्रेसबाट प्रमुखमा नृप ओड र उपप्रमुखमा सुशीला मिश्र भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, नेकपा (एमाले) बाट प्रमुखमा दुर्गाप्रसाद जोशी र उपप्रमुखमा रुक्मणी देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, माओवादी केन्द्रबाट प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्ति क्षेत्री अधिकारी, राप्रपाबाट प्रमुखमा बिष्णु साहु र उपप्रमुखमा जनक कुँवर, नेपाल लोकतान्त्रिक फोरमबाट प्रमुखमा प्रेम बिसी र उपप्रमुख दुर्गा कुश्मी, नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको संयुक्त गठनबन्धनबाट प्रमुखमा कृष्णनन्द गिरी र उपप्रमुखमा समाजवादी सावित्री साहनीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय धनगढीले जनाएको छ ।
यसैगरी टीकापुर नगरपालिकामा दुई स्वतन्त्रसहित नौ दलबाट गरी दुई सय ९० जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय टीकापुरले जनाएको छ ।
टीकापुर नगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुखमा जंगबहादुर साउँद र उपप्रमुखमा केशरी बिष्ट रावल, एमालेबाट प्रमुखमा तपेन्द्र रावल र उपप्रमुखमा कमला केसी, माओवादी केन्द्रबाट प्रमुखमा ललित थापा र उपप्रमुखमा आशा चौधरी, नेपाल लोकतान्त्रिक फोरमबाट प्रमुखमा लौटन चौधरी र उपप्रमुखमा सुदेशनी चौधरी, राप्रपाबाट प्रमुखमा रामकृष्ण चौधरी, उपप्रमुखमा मञ्जुदेवी रावल, नयाँशक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमको संयुक्त गठनबन्धनबाट प्रमुखमा गोवद्र्धन विक र उपप्रमुखमा केशवती चौधरी, राष्ट्रिय जनमोर्चाबाट प्रमुखमा दयाराम सञ्ज्याल र उपप्रमुखमा आशा चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रमुखमा मेघलाल धिताल र उपप्रमुखमा लक्ष्मी पोखरेल, नेपाल दलित पार्टीबाट प्रमुखमा पदम सिंहले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय टीकापुरले जनाएको छ ।
राजपाका दुई जना पक्राउ
निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी र तोडफोड खोज्ने राष्ट्रिय जनता पार्टीका दुई जनालाई प्रहरी पक्राउ गरेको छ ।
आइतबार कैलालीको कैलारी गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी सहित तोडफोड गरेको आरोपमा सो पार्टीका केन्ऽीय सदस्य फोनीराम चौधरी र जिल्ला उपाध्यक्ष सरिता चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक कारवाहीको प्रक्रिया थालेको कैलाली प्रहरी प्रमुख एसपी अर्जुन चन्दले बताए । उनले यो घटना बाहेक कैलालीका १३ वटै स्थानीय तहमा शान्तिपूर्ण तवरमा मनोनयन दर्ता भएको जानकारी दिए ।

मनोनयनपत्र दर्ताका केही झलकहरू

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार