४ जेष्ठ २०८१, शुक्रबार

पत्रकारद्वय भण्डारी र भट्ट रिहा



धनगढी । शनिबार पक्राउ गरिएका कञ्चनपुरका क्रियाशील पत्रकार खेम भण्डारी र गणेश भट्ट आइतबार बिनाशर्त रिहा गरिएका छन् ।
नेपाल पत्रकार महासंघ लगायत सञ्चार आवद्ध संस्थाहरूको व्यापक विरोधपछि प्रशासनले पत्रकारद्वय भण्डारी र भट्टलाई रिहा गरेको जनाइएको छ ।
भण्डारी कञ्चनपुरबाट प्रकाशन भइरहेको मानसखण्ड दैनिकका प्रकाशक/सम्पादक हुन् भने भट्ट सो पत्रिकाका कार्यकारी सम्पादक हुन् ।

पत्रकार खेम भण्डारी र गणेश भट्ट

पत्रिकामा छापिएको एक समाचारका विषयमा प्रहरीले पत्रकार भण्डारी र भट्टलाई शनिबार पत्रिकाको कार्यालयबाटै पक्राउ गरेको थियो । उनीहरूमाथि सार्वजनिक अपराधसम्बन्धी मुद्दा चलाइएको थियो ।
पत्रकार भण्डारी र भट्ट पक्राउ गरिएको लगत्तै नेपाल पत्रकार महासंघ, केन्द्रीय समिति, सुदूरपश्चिम क्षेत्रीय समन्वय समिति, महासंघको कञ्चनपुर शाखा, लगायतका संस्थाले घटनाको व्यापक विरोध गर्दै बिनाशर्त रिहाईका लागि दबावमूलक आन्दोलन शुरु गरेका थिए ।
पत्रकारहरूलाई पक्राउ गरेलगत्तै महासंघका सुदूरपश्चिम संयोजक तथा केन्द्रीय सदस्य प्रकाशबिक्रम शाहले कञ्चनपुर पुगेर रिहाईका लागि पहल गरेका थिए । पत्रकारद्वयको रिहाईका लागि आइतबार बिहानैदेखि कालोपट्टीसहित कञ्चनपुरमा धर्ना थालिएको थियो ।
प्रशासनले रिहापत्रमा पत्रकार भण्डारी र भट्टमाथि लगाइएको आरोप तत्काललाई प्रमाणित हुने नदेखिएको उल्लेख छ ।

 

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार