२ जेष्ठ २०८१, बुधबार

स्थानीय तह निर्वाचन : मुक्त कमैयाहरू भन्छन्– “लालपुर्जा देऊ, मत दिन्छौं”



धनगढी । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति आउन १२ दिन मात्र बाँकी छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले प्रचारप्रसारलाई तीब्र बनाइरहेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवारहरूले पनि चुनावी प्रचारप्रसार गरिरहेका छन् ।
विभिन्न कार्यक्रमसहित प्रचारप्रसारमा जुटेका उम्मेदवारहरूले मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् । आश्वासन बाँडिरहेका छन् । तर, मतदाताहरू भने– ‘आश्वासनका आधारमा नभएर राजनीतिक लगाव, सक्षम र इमान्दार पार्टी तथा उम्मेदवारलाई मत दिने’ बताइरहेका छन् ।’
कस्ता उम्मेदवारलाई चुन्नुहुन्छ ? आम मतदाताको धारणा संकलन गर्ने क्रममा अनुमोदन दैनिकले शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर १, पुरानो एयरपोर्टस्थित मुक्त कमैया वस्तीका बासिन्दासंग जिज्ञासा राखेको थियो । वस्तीका बासिन्दालले एकै स्वरमा भने– ‘मुक्त कमैयाको समस्या समाधान गर्नसक्ने र शिक्षा, स्वास्थ्य, बाटोघाटो, खानेपानी, विद्युत र रोजगारीको व्यवस्था गर्ने उम्मेदवारलाई नै छान्नेछौं ।’

धनगढीस्थित पुरानो एयरपोर्ट मुक्त कमैया वस्ती

‘अहिले कुनै पनि राजनीतिक दलका मेयर वा उपमेयर पदका उम्मेदवार हामीकहाँ भोट माग्न आएका छैनन्’ वस्तीका छुनुकलाल चौधरीले भने– ‘तर, हामी हाम्रा समस्या समाधान गर्न सक्ने योग्य उम्मेदवारलाई मात्र भोट दिने छौं ।’ उनले आफूले बसोबास गर्दै आएको जग्गाको अहिलेसम्म जग्गाधनी पुर्जा नपाएको गुनासो गरे । भने– ‘लालपुर्जा दिने भरपर्दो आश्वासन दिने उम्मेदवारलाई नै म मत दिनेछु ।’
उनी जस्तै सीताराम चौधरीले पनि आफूलाई अझैं पनि मुक्त कमैया भएको आभास नभएको बताए । ‘हाम्रो समस्या बुझ्ने र समाधान गर्ने उम्मेदवारलाई नै मत दिन्छु’ उनले भने ।
सो वस्तीका भलमन्सा छैलुराम चौधरीले अहिलेसम्म कुनै राजनीतिक दलका उम्मेदवारले आफूसंग मत नमागेको बताए । विगतका चुनावमा राजनीतिक दलहरूले विभिन्न आश्वासन दिएर मत मागेको स्मरण गर्दै उनले भने– ‘अब आश्वासन होइन्, लिखित प्रतिवद्धतासहित समाधान गर्ने घोषणा गर्नुपर्दछ ।’
सो वस्तीमा केही परिवारलाई सरकारले घरबासका लागि जग्गा प्रदान गरे पनि केहीले अझैं पाउन सकेका छैनन् ।
अर्कोतिर, सो वस्तीका अधिकांस बासिन्दाले आफूहरूले मतदाता शिक्षा पाउन नसकेको गुनासो गरेका छन् ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा बदर मतको प्रतिशत कम गर्न निर्वाचन कार्यालयले जेठ ५ गतेदेखि मतदाता शिक्षा शुरु गरे पनि सो वस्तीका अधिकांस बासिन्दाले कसरी सही मतदान गर्नेबारे जानकारी पाउन नसकेको बताए ।
‘यहाँ अहिलेसम्म मतदान कसरी गर्ने भनेर कोही पनि सिकाउन आएका छैनन्’ शिविरका भलमन्सा छैलुराम चौधरीले भने– ‘अहिलेको मतपत्र पनि ठूलो रहेछ । सात जनालाई मत दिनु पनि पर्छ भन्छन्, तर कसरी मत हाल्ने भन्ने मैले अझैं जान्न सकेको छैन । उनले अहिलेको मतपत्र धेरै झन्झटिलो र अप्ठ्यारो रहेको आफूले सुनेको बताए । उनले राजनीतिक दलका उम्मेदवारहरूलाई मतदाता शिक्षालाई प्रभावकारी बनाउन माग गरे ।
मुक्त कमैया वस्ती मात्रै होइन्, अन्य वस्तीका बासिन्दा पनि अझैं सही तरिकाले मतदान कसरी गर्ने भन्नेमा राम्ररी जानकार हुन सकेका छैनन् ।
निर्वाचन कार्यालयले कैलालीमा मतदाता शिक्षा कार्यक्रमका लागि चार सय ९० जना मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेवक खटाइएको छ । एक मतदान केन्द्रमा एक जना मतदाता शिक्षा कार्यकर्ता खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार