१२ श्रावण २०८१, शनिबार

पत्रकार खेम भण्डारी पक्राउ



खेम भण्डारी

धनगढी। कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । मानसखण्ड दैनिकका प्रकाशक तथा सम्पादक भण्डारीलाई प्रहरीले सार्वजनिक अपराध गरेको आरोपमा अनुसन्धानका लागि भन्दै कार्यालयबाटै पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरिक्षक महेन्द्र पाण्डे नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
कञ्चनपुरमा लामो समय पत्रकारितामा रहेका भण्डारी न्यूनतम् पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष समेत हुन् । उनले मानसखण्ड दैनिक र रेडियो महाकालीमार्फत कञ्चनपुरमा प्रहरीका विषयमा निरन्तर समाचार सम्प्रेषण गर्दै आएका थिए ।
मिडियामा सार्वजनिक समाचारमा आफ्नी छोरीको नाम उल्लेख गरेर चरित्र हत्या गरेको भन्दै अभिभावकले सार्वजनिक अपराध अन्तर्गत उजुरी दिएपछि पक्राउ गरिएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक भिमप्रसाद दहालले बताए ।

गणेशदत्त भट्ट

यसैगरी, मानसखण्ड दैनिक  पत्रिकाका कार्यकारी सम्पादक गणेशदत्त भट्टलाई पनि सार्वजनिक अपराध गरेको आरोपमा पक्राउ गरेको छ ।

यस्तो थियो मानसखण्डले छापेको समाचार 

दुई युवती ‘अपहरण’ प्रकरण : प्रहरी उत्रियो फिल्मी शैलीमा
प्रहरीद्वारा शनिबार साँझ महेन्द्रनगरका दुई कामकाजी युवतीलाई ‘अपहरण’ गरिएको घटना झन् रहस्यमयी बनेको छ । आइतबार दिनभरिका घटनाक्रम, प्रहरीको दावी र घटनास्थलका प्रत्यक्षदर्शीको कथनले घटना रहस्यमयी बन्दै गएको हो ।
महेन्द्रनगरको बसपार्कमा ‘स्टाफ होटल’ सञ्चालन गरिरहेका कञ्चन नाथ र पूजा नाथलाई शनिबार साँझ ८ बजे प्रहरीले पक्राउ गरेको थियो । प्रत्यक्षदर्शी तथा ती युवतीका आफन्तले घटनालाई ‘अपहरण’ बताएका थिए । तर, प्रहरीले सो घटना बारे आइतबार दिउँसोसम्म कुनै जानकारी प्रवाह गरेको थिएन ।
कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाशबहादुर चन्दले पटक–पटक कञ्चन र पूजालाई खाजा खान निम्त्याउने र युवतीद्वय नआएपछि तीन पटक जिल्ला प्रहरी कार्यालयमा झिकाएर केही घण्टा राखेको आरोप लगाइएको थियो । शनिबार दिउँसो पनि एसपी चन्दले पूजा र कञ्चनलाई खाजा खान बोलाएका तर नआएपछि साँझ गिरफ्तार गरिएको युवतीका आफन्तको आरोप छ ।

मुख खोल्यो प्रहरीले
मानसखण्ड दैनिक र मानसखण्ड डटकममा समाचार प्रकाशित भएपछि आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी पूजा र कञ्चनका साथ उनीहरुसँगै रहेका अभिलेख खड्कालाई समेत थुनामा राखिएको पुष्टि गरेको छ । पत्रकार सम्मेलनमा एसपी चन्दले हिरासतमा रहेका तीनै जनाले मदिरा सेवन गरी होहल्ला गरेकोले पक्राउ गरिएको बताए ।
एसपी चन्दका अनुसार पूजा, कञ्चन र अभिलेखले मदिरा सेवन गरी सशस्त्र प्रहरी गुल्मको गस्तीलाई गालिगलौज गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । चन्दले तीनैजना विरुद्ध सार्वजनिक अपराध ऐन अनुसार कारबाही गरिने बताएका छन् । उनले सशस्त्र गुल्मको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालयलाई बुझाएको दावी समेत गरे ।

मापसे आरोप, मुद्दा सार्वजनिक अपराध
मदिरा सेवन गरी होहल्ला गरेको भन्दै पक्राउ गरिएका तीनै जनालाई आइतबार नै जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक अपराधको कसुरमा सात दिनको म्याद लिई थुनामा राखिएको छ ।
मदिरा सेवनकै कारण महिलाविरुद्ध सार्वजनिक मुद्दा लगाइनुलाई अर्थपूर्ण समेत मानिएको छ । पूजा र कञ्चनका आफन्तले एसपी चन्दले रहस्य दवाउनका लागि सार्वजनिक मुद्दा चलाएर दुबै युवतीलाई हिरासतमा राख्न खोजेको आरोप लगाएका छन् । ‘पटक–पटक खाजा खान बोलाउने नियतको पर्दाफास नहोस् भनेर थुनामा राख्ने र मुखमा बुझो लगाउने प्रयास हुँदैछ’ कञ्चनका एक आफन्तले भने ।

गरेकै हुन त होहल्ला ?
एसपी चन्दले हिरासतमा रहेका तीनै जनाले सशस्त्र प्रहरी गुल्मको गस्ती टोलीलाई गालिगलौज गरेको दावी गरे पनि उनले कुन अधिकृतको कमाण्डमा गएको टोली भन्ने खुलाउन चाहेनन् । गुल्म स्रोतका अनुसार एसपी चन्दको त्यो दावीमा सत्यतता छैन ।
पक्राउ गरेपछि गुल्मको टोलीले तीनै जनालाई स्थानीय कभर्ड हलको मैदानमा वडा प्रहरीको टोलीलाई बुझाएको भनिएको छ । तर, किन त्यसरी बुझाउन प-यो, सोझै ३०० मिटर टाढा रहेको जिल्ला प्रहरी कार्यालयमा किन ल्याइएन भन्ने प्रश्नको उत्तरसमेत पत्रकार सम्मेलनमा दिइएन ।
प्रत्यक्षदर्शीहरुका अनुसार पक्राउ परेकाहरुले होहल्ला गरेका होइनन् । शिवमन्दिरमा बस्दै आएका प्रत्यक्षदर्शी दिनेशराज जोशीले होहल्ला र गालिगलौज गरेको दावी झुठो भएको बताए । कभर्डहल नजिकै बस्ने अर्की प्रत्यक्षदर्शी अनु कार्कीले पनि होहल्ला र गालिगलौज आफूले नसुकनेको बताइन् ।

के भन्छन् कञ्चन वा पूजा ?
पत्रकार सम्मेलनमा कञ्चन र पूजालाई प्रस्तुत गर्न आग्रह गरिए पनि प्रहरीले इन्कार गरेको थियो । पत्रकार सम्मेलनपछि दैनिक मानसखण्ड र अन्य केही पत्रकारलाई कञ्चन र पूजालाई भेट्न दिइएको थियो तर उनीहरुलाई आफ्नो नाम भन्न दिइएको थिएन ।
दुईमध्ये एक युवतीले पत्रकारहरुलाई यस्तो विवरण बताएकी थिइन् :
‘हामी दुई र अभिलेख बाटोमा हिडिरहेका बेला एकजना आएर हामीलाई जिस्क्यायो । अभिलेखले त्यसलाई गाली गरेपछि उ भाग्यो । केही छिनमा त्यो मान्छेले प्रहरीको गाडी ल्याएर आयो । प्रहरीले उल्टै हामीलाई गाडीमा हालेर यहाँ ल्याई थुन्यो ।’
ती युवतीले यति नभन्दै प्रहरीले उनीहरुलाई थुनुवाकक्षमा लगेको थियो ।

(मानसखण्ड)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार