माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । १० कक्षाको अन्तिम परीक्षा गतवर्षसम्म एसएलसीको नाममा हुने गरेको थियो ।
यसवर्षदेखि एसईईको नाममा नतिजा सार्वजनिक भएको हो । यसवर्ष पनि ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६२ हजार १ सय ३६ मध्ये नियमितमा ४ लाख ४५ हजार ५ सय ६४ तर्फ ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १२ हजार २ सय ८४ जनाले प्राप्त गरेका छन् ।
यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ४२ हजार ४ सय २७ जना छन् । २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ५० हजार ६ सय ४६ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने विद्यार्थी ६१ हजार ९ सय ५५ जना, २ देखि २.४ जीपीएसम्म ल्याउने ९१ हजार ३ सय १४ र १.६ देखि २.४ जीपीएसम्म ल्याउने १ लाख ८ हजार ४ सय ६४ विद्यार्थी छन् । १.२५ देखि १.६० सम्म ल्याउने ६४ हजार ५ सय ७५ जना विद्यार्थी रहेका छन् । ०.८५ देखि १.२० ल्याउने ११ हजार २ सय ८५ रहेका छन् ।
परीक्षामा सामेल भएकामध्ये २ सय १९ जनाको परीक्षा रद्द गरिएको छ । परीक्षामा ‘सी’ र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको परीक्षा यही वर्ष दिन पाउने छन् । गतवर्ष दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाएका थिए ।
विगतमा दुई विषयमा मात्रै मौका परीक्षा दिन पाइन्थ्यो । अब ‘सी’ भन्दा कम ग्रेड आएका विद्यार्थीले सबै विषयको परीक्षा दिन पाउने व्यवस्था गरेको छ । अर्को वर्षको परीक्षामा यो वर्षको जस्तो आंशिक (एक्जाम्टेड) परीक्षार्थी भन्ने हुँदैन ।
गतवर्षसम्म दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड वृद्धिको परीक्षा दिन पाउँथ्यो । यसवर्ष भने सैद्धान्तिक विषयमा ‘डी’, ‘डि’ प्लस र ‘ई’ ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुले ग्रेड वृद्धिको परीक्षा दिन पाउने छन् । ग्रेड वृद्धिका लागि पुन: परीक्षा आगामी साउन १९ देखि २६ गतेसम्म हुनेछ ।
नतिजाका लागि यहाँ क्लिक गर्नुहोस् ।
(इकान्तिपुर)