१० श्रावण २०८१, बिहीबार

एमालेको साँफेबगरमा मेयर/उपमेयर परिवर्तन



अछाम । नेकपा (एमाले) अछामले साँफेबगर नगरपालिकामा मेयर र उपमेयर पदका उम्मेद्वारलाई परिवर्तन गरेको छ ।
मेयर पदमा कुलबहादुर कुँवर र उपमेयरमा बिर्मला बुडथापालाई उम्मेद्वार बनाउने गरी साँफेबगरमा आयोजित पत्रकार सम्मेलमा आइतबार घोषणा गरेको छ ।

कुलबहादुर कुँवर

नेकपा (एमाले) बाट यसअघिका उम्मेद्वार शिवबहादुर कुँवर (शिलोज) का बारेमा काठमाडौंस्थित सहकारी, स्थानीय विद्यालय र बैंकमा अनियमितताको बारेमा सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि उम्मेद्वारी फिर्ता लिइएको हो । काठमाडौंस्थित शिद्धार्थ सहकारी, जनकल्याण मावि र बैक कारोबारका बारेमा केही हप्ता अघि एक अनलाइनमा समाचार प्रकाशित भएको थियो ।
उम्मेद्वारलाई व्यक्तिगत रूपमा कुनै असर नपर्ने भएपनि विपक्षीले भविष्यमा षड्यन्त्र गर्नसक्ने भएकोले शिवबहादुरलाई फिर्ता गरी कुलबहादुरलाई उम्मेद्वार बनाइएको एमाले अछामका अध्यक्ष शेरबहादुर कुँवरले पत्रकार सम्मेलनमा बताए । आसन्न चुनावको लगत्तै आफूलाई लागेको आरोपमा कानुनी उपचार खोज्ने भनाई छ ।
“पार्टीमा असर नहोस भनेर मैले उम्मेद्वारी फिर्ता लिएको हुँ” शिवबहादुरले भने– “मलाई लागेको आरोप प्रमाणित गरेर देखाउन चुनौती दिन्छु ।” शिवबहादुर र उपमेयरका उम्मेद्वार अमृता खड्काले उम्मेद्वारी फिर्ता लिएपछि साँफेबगर नगर संगठन, जिल्ला कमिटी हुँदै केन्द्रले अनुमदन गरेको एमाले अध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए ।
तीन पटकसम्म नगर क्षेत्रमा चुनावी र एक पटक घरदैलोसम्म सम्पन्न भइसकेका बेला उम्मेद्वार परिवर्तन भएको हो ।
अछाम जिल्लामा नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रले दशवटै तहमा उम्मेद्वारी दिने व्यक्तिको नाम टुंग्याइएको छ भने नेपाली कांग्रेस, राप्रपा, नेकपा (माले), नयाँ शक्ति लगायत दलहरूले अधिकांस उम्मेद्वारको नाम टुंग्याउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार