५ जेष्ठ २०८१, शनिबार

स्थानीय तह निर्वाचन : चुनावी प्रचारप्रसार तीब्र बन्दै



धनगढी । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा कैलालीमा पनि विभिन्न दल तथा उम्मेदवारहरूले चुनावी प्रचारप्रसार तीब्र बनाउँदै गएका छन् । प्रमुख दलहरूले जिल्लाका सबै १३ स्थानीय तहका लागि उम्मेदवारहरूको लगभग टुंगो लगाइसकेकोले चुनावी प्रचारप्रसारले गति लिएको छ ।
उम्मेदवारी चयनमा अन्य दलभन्दा ढिलाई गरेको नेपाली काँग्रेसले कैलालीको धनगढी उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिकाका उम्मेदवारको चयन गरेको छ । यद्यपि अझैं उपमहानगरपालिका र केही अन्य नगरपालिकाका उपप्रमुख र केही वडाका अध्यक्ष तथा सदस्यका उम्मेदवारबारे टुंगो लगाइएको छैन ।
दोस्रो चरणको निर्वाचन आगामी असार १४ गते घोषणा गरिएको छ । विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरूले यतिबेला टोलवस्तीमा घरदैलो, कोणसभा, कार्यकर्ता भेलालाई व्यापक बनाइरहेको पाइएको छ । त्यस्तै, मतदाताहरूलाई शिक्षित बनाउनेतर्फ पनि ध्यान दिइरहेका छन् । खासगरी बदर मतको प्रतिशत कम गर्न राजनीतिक दल तथा उम्मेदवारहरूले मतदाता शिक्षामा ध्यान दिइरहेका छन् ।
त्यस्तै, उनीहरूले आ–आफ्ना चुनावी एजेण्डा तथा प्रतिवद्धतापत्र पनि मतदातासम्म पुर्‍याउन कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
धनगढी नगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार नृप वडले मतदाता शिक्षा प्रभावकारी बनाउन चुनावी प्रचारप्रसारलसंगै कार्यक्रम अघि बढाइएको बताए । ‘हामी चुनावी प्रचारप्रसारमा गएका हरेक टोलवस्तीमा मतदाताहरूलाई भोट हाल्ने सही तरिकाबारे सिकाउन नमुना मतपत्र प्रयोग गरिरहेका छौं’ नेपाली काँग्रेसका मेयर पदका उम्मेदावर वडले भने– ‘मतपत्र बदर हुन नदिने उद्देश्यले पार्टीका निर्देशनअनुसार हामी मतदाता शिक्षा कार्यक्रमलाई पनि संगसंगै अघि ढाइरहो छौं ।’
त्यस्तै, नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरूले पनि चुनावी प्रचारप्रसारसंगै मतदाता शिक्षामा पनि जोड दिएको बताए ।
धनगढी उपमहानगरपालिका सहित कैलालीाक सबै १३ स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका राजनीतिक दल तथा तिनका उम्मेदवारहरूले चुनावी प्रचारप्रसार अन्तर्गत घरदैलो अभियान, कोणसभा, सम्पर्क कार्यालय स्थापना लगायतका गतिविधि तीब्र बनाइरहेका छन् ।
चुनावी प्रचारप्रसारका क्रममा शुक्रबार नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिकाको उर्माका चार स्थानमा कोणसभा गरेको छ ।
नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार लक्ष्मीनारायण चौधरी तथा सदस्य पदका उम्मेदवार हरिनारायण राना, महिला सदस्य शान्ति चौधरी, शारदा भण्डारी, निर्मला विक सहितका नेताकार्यकर्ता कोणसभाहरूमा सहभागी भएका थिए ।
त्यस्तै, काँग्रेसले धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ र ५ शुक्रबार घरदैलो कार्यक्रम गरेको छ । त्यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर १, नैनादेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।
त्यस्तै, नेकपा (एमाले)ले धनगढी उपमहानगरपालिका विभिन्न वडामा घरदैलो अभियानलाई व्यापक बनाएको जनाएको छ ।
शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा नेकपा (एमाले)का तर्फबाट मेयर पदका उम्मेदवार दुर्गापसाद जोशी, उपमेयरका उम्मेदवार रुक्मणी देवकोटा तथा वडाध्यक्ष र सदस्यका उम्मेदवारहरूसहित घरदैलो अभियान गरेको छ ।
घरदैलोमा पूर्व नगरप्रमुख खेमराज पाण्डेय, एमाले नेतृ शारदा भट्ट, सचिवालय सदस्य तेजेन्द्र थापा लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
त्यस्तै, नेकपा माओवादी केन्द्रले पनि चुनावी प्रचारप्रसार अभियान व्यापक बनाएको जनाएको छ । माओवादी केन्द्रका नगर इञ्चार्ज रमेश धामीले उपमहानगरपालिकाका सबै १९ वडामा घरदैलो कार्यक्रम अघि बढाइएको बताए ।
शुक्रबार माओवादी केन्द्रका तर्फबाट उपमहानगरपालिकामा मेयरका उम्मेदवार रामसमझ राना र उपमेयरका उम्मेदवार शान्ति अधिकारी क्षेत्री, पार्टीका कार्यकर्ताहरूले धनगढी उपमहानगरपालिकाका ६ स्थानमा घरदैलो गरेको उनले बताए ।
घरदैलो कार्यक्रममा केन्द्रका नगर अध्यक्ष निर्मल शाह, वाइसिएल अध्यक्ष नरेन्द्र तिमिल्सेना, उपाध्यक्ष सुरज खाती, हरि क्षेत्री, गोरख सिंह लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार