२ जेष्ठ २०८१, बुधबार

ऐश्वर्य डिसिए अन्तर विद्यालय क्रिकेट च्याम्पियन



धनगढी । ऐश्वर्य विद्या निकेतन डिसीए अन्तर विद्यालय क्रिकेट च्याम्पियन बनेको छ । धनगढीमा बिहीबार भएको फाइनल खेलमा ऐश्वर्यले लिटिल फ्लावर स्कुललाई चार विकेटले पराजित गर्दै उपाधी जित्यो ।
जीतसंगै ऐश्वर्यले ३० हजार रुपैयाँ पुरस्कार तथा ट्रफी प्राप्त गरेको छ । उपविजेता लिटिल फ्लावरले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो ।
टस जितेर व्याटिङ गरेको लिटिल फ्लावरले निर्धारित १५ दशमलव चार ओभरमा ५० रनमा अलआउट भयो । सुरुवातका दुई ओभरमै दुई खेलाडी रन आउट भएपछि लिटिल फ्लावर सम्हालिन सकेन । लिटिल फ्लावरका कुनै पनि खेलाडीले दोहोरो अंक छुनसकेनन् । ९ रन बनाउने मनोज कठायतनै सबैभन्दा बढी रन बनाउने खेलाडी थिए ।
कसिलो र घातक बलिङ गर्दै ऐश्वर्यले लिटिल फ्लावरलाई सस्तो रनस्कोरमा समेटेको थियो । ऐश्वर्यका लोकेश हमालले चार ओभरमा जम्मा सात रन दिएर तीन विकेट लिए ।
ऐश्वर्यले ५१ रनको विजयी लक्ष्य १२ औं ओभरमा नै ६ विकेट गुमाएर प्राप्त गर्‍यो । ऐश्वर्यका कप्तान वीरेन्द्र महतले १६ रन बनाए ।
बलिङतर्फ लिटिल फ्लावरका आभास खड्काले एक दशमलव पाँच ओभरमा आठ रन दिएर तीन विकेट लिए । फाइनल खेलको म्यान अफ द म्याच ऐश्वर्यका लोकेश हमाल भए ।
प्रतियोगीताको म्यान अफ द सिरिज ग्ली एकेडेमीका पदम बोहरा बने । त्यस्तै, ऐश्वर्यका लोकेश हमाल बेस्ट बलर, ग्ली एकेडेमीका निराजन राण राइजिङ प्लेयर र एक्सिस विद्याश्रमका अमृत रावल बेष्ट ब्याट्सम्यान बने ।
प्रतियोगिता समापनका अवसरमा कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंह, धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही लगायतले विजेता टिमलाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।
धनगढी क्रिकेट एकेडेमीको आयोजनामा भएको सो प्रतियोगितामा धनगढीका २९ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार