५ जेष्ठ २०८१, शनिबार

सम्झौता भएको महिना दिनसम्म पनि काम शुरु भएन



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर २, महालक्ष्मी बैंकदेखि चन्दन टाकिज जाने बाटोको कल्र्भटसम्मको सडक मर्मत कार्य सम्झौता भएको एक महिना पुग्न लाग्दा पनि शुरु भएको छैन ।
नगर पूर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको सो सडकको निर्माणका लागि जेठ ३ गते उपमहानगरपालिकाले निर्माण कम्पनीलाई कार्यादेश दिए पनि अहिलेसम्म सडक निर्माण कार्य अघि बढ्न सकेको छैन ।
चार सय ५० मिटर लामो सडकमा कालोपत्रे र उत्तरतर्फ नाली निर्माणका लागि ४९ लाख आठ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । सो सडकको दक्षिणतर्फ आर्थिक वर्ष २०६८/०६९ सालतिर शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले नाली निर्माण गरिसकेकोले यस वर्ष धनगढी उपमहानगरपालिकाले उत्तरतर्फ ९५ मिटर चौडाईको नाली निर्माण गर्न लागेको छ । सो सडकको चौडाई सात मिटर रहने कार्यालयले जानकारी दिएको छ ।

फाइल तस्बिर

‘धनगढी उपमहानगरपालिकाले जेठ ३ गते एक हप्ताभित्र काम अगाडि बढाउन निर्माण कम्पनीलाई कार्यादेश दिएको थियो’ धनगढी उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले भने– ‘सम्झौता गरेको निर्माण कम्पनी सुरज कन्स्ट्रक्सनले अहिलेसम्म पनि कामको सुरसार गरेको छैन ।’
इन्जिनियर भट्टले निर्माण कम्पनीलाई पटक–पटक काम अघि बढाउन आग्रह गरिएको बताए । निर्माण कम्पनीले बुधबारसम्म पनि काम अघि नबढाएपछि पुन: काम अघि बढाउन पत्राचार गरिएको बताए ।
सो असड आगामी असार २० गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । इन्जिनियर भट्टका अनुसार सो सडक निर्माणसम्बन्धी टेण्डर प्रक्रिया पनि ढिलो भएको र निर्माण कम्पनीले पनि काम गर्न ढिलाई गरेको बताए । ‘तर पनि हामी सम्झौता समयभित्रै काम पुरा गराउनेतर्फ लागेका छौं’ उनले भने ।
सो सडक २०४८ सालतिर निर्माण भएको थियो । हाल सो सडक निकै बिग्रिएको अस्था छ । ठाउँ–ठाउँमा भत्किएको, खाल्डाखुल्डी परेको छ ।
धनगढी उपमहानगरपालिकाले नगर पुर्वाधार विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरेका अन्य योजनाहरू अधिकांस समयमै पुरा हुने चरणमा पुगे पनि यो सडकको काम भने शुरु नै भएको छैन ।
उपमहानगरपालिकाको कार्यालयले चालू आर्थिक वर्ष २०७३/०७४ मा सञ्चालन गर्ने योजनामध्ये वडा नम्बर ८ को सद्भावना रोड कालोपत्रे तथा नाला निर्माण, धनगढी वडा नम्बर १, शिवनगरमा प्लाईउड रोड तथा नाला निर्माण, शिवनगरकै बसन्तटोलमा निर्माणधीन पाँच सय मिटर नाला निर्माण र दुई सय ५० मिटर सडक कालोपत्रे निर्माण कार्य, बसपार्कमा पाँच सय मिटर नाला तथा दुई सय ७० मिटर पक्की सडक, अदालतरोडसंग जोडिएको दक्षिणी नाला निर्माण योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको इन्जिनियर भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार