६ जेष्ठ २०८१, आईतवार

बहुचर्चित मोहना–अत्तरिया छ लेन सडक : निर्माण कार्यले अपेक्षित गति लिन सकेन



धनगढी । मेगा प्रोजेक्टका रूपमा चिनिएको कैलालीको धनगढी मोहनापुलदेखि अत्तरियासम्मको निर्माणाधीय छ लेन सडक आयोजनाको निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन ।
धनगढीको मोहनपुलदेखि अत्तरियाको चौराहसम्म निर्माण हुने १४ दशमलव १९७ किलोमिटरको सो सडकको लागत अनुमान पुलबाहेक दुई अर्ब १५ करोड रुपैयाँ रहेको छ । भन्सार रोडस्थित मोहना पुलदेखि अत्तरिया चोकसम्मको सो सडकको चौडाई ३२ दशमलव दुई मिटर रहने जनाइएको छ ।
गत मंसिरमा सो आयोजनाको कार्यालय उद्घाटन भएको थियो । सो सडक आगामी दुई वर्ष (सन् २०१९) भित्र निर्माण कार्य पुरा गरिने लक्ष्य रहेको छ । नेपाल सरकारको उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय अन्तर्गतको सो आयोजनामा अहिले सडकको दुई किनारामा रहेका र हटाउनुपर्ने रुखमा टाँचा लगाउने काम भइरहेको जनाइएको छ ।
‘सार्वजनिक खरिद नियमावली पाँचौ संशोधनको प्रक्रिया अनुसार काम गर्दा टेण्डर प्रक्रिया केही लम्बिएको हो’ आयोजना प्रमुख नविनमान श्रेष्ठले मंगलबार अनुमोदनसंग भने– ‘टेण्डर भइसकेपछि मूल्यांकनमा पनि केही ढिलाई भयो ।’
आयोजना प्रमुख श्रेष्ठले पछिलो चरणमा रुखमा टाँचा लगाउने काम सकिए पनि छुटेका रुखहरूमा पुन: टाँचा लगाउने काम जारी रहेको बताए । उनले एक हप्ताभित्र टाँचा लगाउने काम पुरा हुने र त्यसपछि विद्युत, नेपाल टेलीकम र एनसेलका पोल सार्ने तथा खानेपानी पाइप मर्मत गर्ने काम अघि बढाइने बताए अनुमोदनसंग उनले भने– ‘आयोजनाको प्रारम्भिक वातवरणीय परीक्षण (आइइ) गर्ने काम भएर प्रतिवेदन तयार गर्ने काम भइरहेको छ ।’
आयोजना प्रमुख श्रेष्ठले विद्युत तथा टेलिफोनका खम्बा (पोल) सार्नका लागि सम्बन्धित निकायलाई चार महिनाअघि नै पत्राचार गरिसकेको बताए । ‘विद्युत प्राधिकरणबाट सडक किनाराका रुख कटान भएपछि पोल सार्न सकिने जवाफ आएको छ’ उनले भने– ‘नेपाल टेलिकम र एनसेलले पोल सार्न इष्टिमेट गरेर केन्द्रीय कार्यालयमा पठाउने तयारी गरिरहेको उत्तर पाएका छौं ।’
उनले सो सडक आयोजनामा अहिले कार्यालय सञ्चालनका लागि एक करोड रुपैयाँ बजेट आएको बताए ।
सो सडकको दुवै साइडतिर तीन/तीन मिटर फुटपाथ रहने छन् । त्यस्तै, सो सडक खण्डमा तीनवटा पुल निर्माण हुनेछन् । आयोजना प्रमुख श्रेष्ठले त्रिनगर नाकाको मोहना पुल तथा गेटाको मनहरा खोला र सुनिखोलामा पुल निर्माण गरिने बताए । आयोजना अन्तर्गत पाँच वटा स्ल्याव र सात वटा पाइप कल्र्भट पनि निर्माण हुनेछन् ।
उनले सो सडक आयोजना निर्माणका तीन खण्डको टेण्डर भएर निर्माण कम्पनीहरूसंग सम्झौता समेत भइसकेको जानकारी दिए ।

 

मुआब्जाको व्यवस्था छैन: श्रेष्ठ
निर्माणाधीन मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणका क्रममा सडकमा पर्ने घरधनीहरूलाई कुनै मुआब्जा दिने व्यवस्था छैन ।
आयोजना प्रमुख श्रेष्ठले जग्गा प्राप्ती ऐन लागू हुनुभन्दा अघि राजपत्रमा सडकको दूरी कायम गरिएकोले यो सडकको किनारामा पर्ने घर वा अन्य भौतिक संरचनाको मुआब्जा दिने व्यवस्था नभएको बताए ।
‘२०३४ साल असार २० गते नेपाल सरकारले सडक सीमा निर्धारण गरेर राजपत्रमा उल्लेख गरेको थियो भने भदौ २२ मा जग्गा प्राप्ती ऐनले मुआब्जाबारे व्यवस्था गरेर राजपत्रमा उल्लेख गरेको थियो’ उनले भने– ‘जग्गा प्राप्ती ऐन लागू हुनुभन्दा दुई महिना अघि राजपत्रमा सडक दुरी कायम गरिएकोले यो सडकको सीमानाभित्र पर्ने जग्गा वा घरको मुआब्जा दिने व्यवस्था छैन ।’
उनले ऐनअनुसार काम गरिने र सडकको सीमानाभित्र रहेका घर तथा भौतिक संरचना भत्काइने बताए ।
‘सकेसम्म घरहरू नभत्काउने ढंगले काम गर्छौं’ आयोजना प्रमुख श्रेष्ठले भने– ‘तर आवश्यक परेमा घरहरू भत्काएर भए पनि निर्माण कार्य अघि बढाइने छ ।’ उनले मानव बस्ती भएको क्षेत्रमा छ लेन र वस्ती नभएको क्षेत्रमा चार लेन सडक निर्माण गरिने बताए । जसअन्तर्गत १० किलोमिटर खण्ड छ लेन र चार दशमलव १९७ किलोमिटर खण्डमा चार लेन सडक निर्माण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार