२ जेष्ठ २०८१, बुधबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य र नगर प्रमुख एमालेमा



धनगढी । स्थानीय तहको निर्वाचन मिति नजिकिदै जादा विभिन्न दल बदल गर्ने क्रम बढेको छ । आइतबार धनगढीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजेश भण्डारी, धनगढी उपमहानगर कमिटी नगर इञ्चार्ज रोम स्वाँर, अत्तरिया नगर अध्यक्ष दलबहादुर बोगटी, डोटीका पुर्व पार्टी संयोजक ओम विष्ट, जिल्ला उपाध्यक्ष लालबहादुर शाही, इटा व्यवसायी संघका मुक्ति सुवेदी, रामचन्द्र चौधरी लगायतका नेताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
यसैगरी, धनगढी उपमहानगरपालिका(३ बाट नेकपा माओवादी केन्द्रका नेता भरत खड्का, नेपाली कांग्रेसका वडा नम्बर ५ का नेता कृष्ण विष्ट पनि एमालेमा प्रवेश गरेका छन् ।
आइतबार बिहान नेकपा (एमाले) सात नम्बर प्रदेशमा आयोजित एक कार्यक्रममा नवप्रवेशीलाई नेकपा (एमाले)का उपाध्यक्ष एवं सात नम्बर प्रदेशका संयोजक भीम रावलले टीका लगाएर स्वागत गरेका छन् ।
कार्यक्रममा नवप्रवेशीका तर्फबाट बोल्दै राजेश भण्डारीले नेकपा (एमाले) ले देश र जनताको पक्षमा उभिने पार्टी भएकोले आफूले सो पार्टीमा प्रवेश गरेको बताए ।
धनगढीका व्यापारी भण्डारी दुई कार्यकाल कैलाली उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष रहेका थिए । संविधान सभा उपनिर्वाचन २०७१ मा कैलाली क्षेत्रनम्बर ६ बाट राप्रपा नेपालका उम्मेदवार बनेका थिए । सो निर्वाचनमा ४ हजार ३ सय ६७ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार