१० श्रावण २०८१, बिहीबार

नेपाली नागरिक बन्धक बनाइएको घटना : बन्धक बनाउने भारतीय प्रहरीहरूलाई छोडियो



धनगढी । डोटी लडागडाका एक नेपाली नागरिकलाई बन्धक बनाउने एक भारतीय प्रहरी अधिकृतसहित पाँच जनालाई शुक्रबार छोडिएको छ ।
नेपाली नागरिकलाई बुधबार मध्यरातमा बन्धक बनाएर भाग्दै गरेको अवस्थामा डोटी प्रहरीले भारतीय प्रहरीका डिएसपी नागराजसहित पाँच जना प्रहरी र दुई जना नेपालीलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरी नियन्त्रणमा रहेका भारतीय प्रहरीहरूलाई बिहीबार राती नै डोटीबाट महेन्द्रनगरस्थित महाकाली अञ्चल कार्यालयमा पठाइएको र त्यहाँबाट गड्डाचौकी हुँदै सिमापार गराइएको बताइएको छ ।
डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण शर्माले केन्द्रको निर्देशनअनुसार भारतीय प्रहरीहरूलाई सिमानाका कटाइएको बताए । भारतीय प्रहरीले नेपाली नागरिकलाई बन्धक बनाउन प्रयोग गरेको जीप र जीपचालक तथा बन्धक बनाउन सहयोग गर्ने लडागडाकै प्रसाद पार्कीलाई पनि महाकाली अञ्चल प्रहरी कार्यालयमा बुझाइएको प्रअिज शर्माले बताए ।
भारतीय प्रहरीले बन्धक बनाइएका डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८, लडागडाका ३० वर्षीय लालबहादुर आउजीलाई भने डोटी मै छोडिएको छ ।
बुधबार मध्यराती भारतीय प्रहरीका डिएसपी नागराजसहित पाँच जना सुरक्षाकर्मीले घरबाट सुतिरहेको अवस्थामा लालबहादुरलाई बन्धक बनाएको थियो ।
बन्धक बनाएपछि उनीहरूले लालबहादुरलाई धनगढीबाट लगिएको बा १६ प ९७९९ नम्बरको जीपमा राखेर लैजाने क्रममा डोटी प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएको थियो ।
लालबहादुरलाई बन्धक बनाएर जबरजस्ती जीपमा राखेर लैजाँदै गरेको थाह पाएपछि स्थानीयले शुरुमा लडागडा प्रहरी चौकीलाई सूचना गरेको र प्रहरी टोलीले पिछा गरे पनि भागेका थिए । पछि जिल्ला प्रहरी कार्यालयमा सोबारे सूचना पुगेपछि थप बलसहित प्रहरीले घेरा हालेर सो गाडीसहित भारतीय प्रहरी र गाडी चालकसहित दुई जना नेपालीलाई नियन्त्रणमा लिन सफल भएको थियो ।
भारतीय प्रहरीलाई आउजीको घर देखाउन डोटी लडागडा नै घर भएका प्रसाद पार्की उनीहरूसंगै आएका थिए ।

 

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार