१९ भाद्र २०८१, बुधबार

नेपाली नागरिकलाई बन्धक बनाउने भारतीय सुरक्षाकर्मीहरू पक्राउ



डोटी । नेपाली नागरिकलाई बन्धक बनाएर लैजाँदै गरेका भारतीय प्रहरी अधिकारीसहित सात जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
बुधबार राती डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८, लडागडाका ३० वर्षीय लाल आउजीलाई बन्धक बनाएर लैजाँदै गरेको अवस्थामा नेपाल प्रहरीले भारतीय प्रहरीका एक डिएसपी नागराजसहित पाँच जना सुरक्षाकर्मी र दुई अन्यलाई पक्राउ गरेको जनाइएको छ ।
मध्यरातमा भारतीय प्रहरीले लाललाई उनकै घरबाट सुतिरहेको अवस्थामा बन्धक बनाएको थियो । भारतीय प्रहरीले नेपाली नागरिकलाई घरबाटै बन्धक बनाएर लैजान लागेकोबारे स्थानीयले जिल्ला प्रहरी कार्यालय डोटीमा खबर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ । भारतीय प्रहरीले प्रयोग गरेको बा १६ प ९७९९ नेपाली नम्बर प्लेटको जीप पनि डोटी प्रहरीले चालकसहित नियन्त्रणमा लिएको छ ।

अपहरणकारीले प्रयोग गरेको गाडी प्रहरीले ढाकेर राखेको

घरैबाट अपहरणको शैलीमा नेपाली नागरिकलाई भारतीय प्रहरीले लैजादै गरेकोबारे शुरुमा स्थानीयले लडागडा प्रहरी चौकीलाई सूचना गरेको बताइन्छ । सूचनापछि लडागडा प्रहरीले सो गाडीलाई नियन्त्रणमा लिन खोज्दा भागेको थियो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालयमा सोबारे सूचना पुगेपछि प्रहरीले घेरा हालेर गाडीसहित भारतीय प्रहरी, गाडी चालकसहित दुई जना नेपालीलाई नियन्त्रणमा लिन सफल भएको थियो ।
भारतीय प्रहरीलाई आउजीको घर देखाउन डोटी लडागडा नै घर भएका प्रसाद पार्की उनीहरूसंगै आएको बताइएको छ । सो गाडी धनगढीमा रहेको पिएस टुर्स एण्ड ट्राभल्सले मिलाईदिएको बताइन्छ । भारतीय प्रहरीहरूले डोटीको शैलेश्वरी घुम्न जाने भनेकोले गाडीको व्यवस्था गरिदिएको सो ट्राभल्सका सञ्चालक पदम सिंहले बताए ।
एकजना स्थानीयका अनुसार पार्कीले नै राती करिब २ बजेतिर लालको घरमा गएर आफ्नो परिचय दिँदै ढोका खोल्न भनेका थिए ।
लालले ढोका खोल्ने वित्तिकै भारतीय प्रहरीहरूले भित्र पसेर उनलाई कुटपिट गर्दै डोरीले बाँधेर जबरजस्ती गाडीमा हालेर भागेका ती स्थानीयले बताए ।
नियन्त्रणमा लिइएका भारतीय प्रहरी, बन्धक बनाइएका आउजी, घर देखाउने पार्की र गाडी चालकलाई जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएको छ । प्रहरीले आउजीलाई छुट्टै कोठामा राखेको छ । कसैलाई पनि उनीसंग भेट्न दिइएको छैन । भारतीय प्रहरीले नेपाली नागरिकलाई बन्धक बनाउन प्रयोग गरेको नेपाली नम्बर प्लेटको जीपलाई त्रिपालले छोपेर राखिएको छ ।
प्रहरी अधिकारीहरूले घटनाबारे प्रतिक्रिया दिन चाहिरहेका छैनन् । जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमूख डिएसपी डिल्लीराज बिष्टले घटना बोल्न चाहेनन् ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी रोमेन्द्रसिंह देउजाले आफुलाई घटनाबारे जानकारी नभएको प्रतिक्रिया दिए ।
यसअघि २०७३ बैशाख १२ गते एकजना भारतीय प्रहरी निरीक्षकको नेतृत्वमा हतियारसहित आएको भारतीय सुरक्षाकर्मीहरूलाई नेपाल प्रहरीले डोटी र अछामको सिमानामा पर्ने चौखुट्टेबाट नियन्त्रणमा लिएको थियो । पछि उनीहरूलाई नेपाल प्रहरीले नै भारतीय सिमासम्म पुर्‍याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार