१० श्रावण २०८१, बिहीबार

विद्यार्थी नेता कुँवरले अनसन तोडे



धनगढी । नेपाल विद्यार्थी संघ कैलालीका पूर्व अध्यक्ष कृष्णबहादुर कुँवरले स्थानीय तहको निर्वाचनका लागि धनगढीमा उम्मेदवार छनोट गर्दा पार्टी संस्थापन पक्षले एकलौटी गरेको विरोधमा सात दिन अघि थालेको आमरण अनसन आज तोडेका छन् । कुँवरलाई नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि टेकबहादुर रैंका र उनका बाजे नन्दसिंह कुँवरले जुस खुवाएका थिए ।
कांग्रेस केन्द्रीय नेतृत्वले सुनुवाई नगरेको तर पार्टीका जिल्ला तहका नेता, डाक्टर गोविन्द केसी, कुँवरका परिवारजन र शुभेच्छुकको अनुरोधमा आमरण अनसन तोडेको कुँवरले बताए । ‘पार्टीभित्रको विकृति, विसंगति विरुद्ध र असन्तुष्ट पक्षलाई समेटन माग गर्दै अनसन बसेको हँु,’ कुँवरले भने, ‘मेरो माग पूरा भएको छैन पार्टी मजबुत बनाउन आन्तरिक संघर्ष जारी राख्दै पार्टी कार्यालयको तालाबन्दी पनि जारी रहनेछ ।’
पार्टीका महाधिवेशन प्रतिनिधि टेकबहादुर रैंकाले उम्मेदवारको टिकट वितरण प्रक्रियामा भएको विकृति विरुद्ध अनसन बसेका होनवार युवाको भावनालाई नेतृत्वले वेवास्ता गरेको आरोप लगाउँदै पार्टीलाई राम्रो बनाउन आवश्यक रहेको बताए । कुँवरका बाजे नन्दसिंहले पनि पार्टी नेतृत्वले वास्ता नगरेकोमा दु:ख व्यक्त गर्दै प्राण रक्षाका लागि अनुसन तोडाउनु परेको बताए ।
सात दिनअघि पार्टी कार्यालय अनसन बसेका कँुवरको स्वास्थ्य अवस्था कमजोर भएपछि जेठ १४ गते सेती अञ्चल अस्पतालको आइसीयू कक्षमा ल्याई उपचार गरिएको थियो । अनसनको अन्तिम दिन आज अस्पतालको आइसीयू कक्षमा पनि डाक्टर गोविन्द केसीले पनि ऐक्यवद्धता जनाए । उनले अहिले सबैतिर बेथिति बढेको र त्यसको जरो राजनीति भएको बताउँदै निर्वाचनको मुखमा अनसन नलम्ब्याउन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार