२३ बैशाख २०८१, आईतवार

गणतन्त्र दिवस–२०७४ : विभिन्न कार्यक्रमसहित मनाइयो



धनगढी । गणतन्त्र दिवस–२०७४ सोमबार कैलाली सहित देशभरी विभिन्न कार्यक्रम गरी मनाइएको छ । गणतन्त्र दिवसका अवसरमा कैलाली जिल्ला समारोह समितिले प्रभातफेरी लगायतका कार्यक्रमको आयोजना गरेको थियो ।
बिहान धनगढीको ट्राफिक चौराहदेखि जिल्ला समन्वय समितिको प्रांगणसम्म प्रभातफेरी निकालिएको थियो ।
प्रभातफेरीमा निजामति कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
तर, प्रभातफेरीमा राजनीतिक दलका नेताकार्यकर्ताको भने सहभागीता सून्य बराबर थियो ।
जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाईदै आइएको छ ।
प्रभातफेरी कार्यक्रम समापन गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले गणतन्त्र स्थापनापछिका दश वर्षको अवधिमा मुलुकमा थुप्रै उतारचढाव आएको चर्चा गर्दै झण्डै आठ वर्षपछि संंविधान जारी भए संक्रमणकाल अझैं कायमै रहेको बताए ।

 

२२ जना जेलमुक्त
गणतन्त्र दिवसका अवसरमा विभिन्न अपराधमा कैलाली कारागारमा कैद सजाय भोगिरहेका २२ जना कैदी जेलमुक्त भएका छन् ।
जिल्ला कारागार कार्यालयका अनुसार गणतन्त्रको अवसर पारेर दुई जना महिला र १८ पुरुष गरी २१ जना कैदी तथा एक जना आश्रित बालक जेलमुक्त भएका छन् ।
सरकारले कैदीहरूको आचरणलाई ध्यानमा राखी हरेक गणतन्त्र दिवसका अवसरमा केही कैदीको बाँकी सजाय माफ गर्दै जेलमुक्त गर्ने गरेको छ ।

 

युवाहरूद्वारा सरसफाई
गणतन्त्र दिवसकै अवसर जिल्ला युवा समिति कैलालीको आयोजनामा सोमबार सेती अञ्चल अस्पतालमा सरसफाई गरिएको छ ।
जिल्ला युवा समितिको कार्यालय कैलालीको आयोजनामा ‘समाजका लागि युवाको एक दिन’ कार्यक्रम अन्तर्गत सो कार्यक्रम गरिएको जनाइएको छ ।
युवा समितिका अध्यक्ष शम्भु कुँवरले युवाहरूमा सामाजिक उत्तरदायित्व तथा स्वयंसेवी भावनाको अभिवृद्धि गर्ने र सामाजिक कार्यमा युवालाई जागरुक बनाउँदै समाज र युवाबीचको सम्बन्ध अझ सुदृढ बनाउन कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले समाजका लागि युवाको रचनात्मक भूमिका वृद्धि गर्न आग्रह गरे ।
समितिका अध्यक्ष कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सेती अञ्चल अस्पतालका कर्मचारी, सशस्त्र प्रहरीबल सीमा सुरक्षा बल, धनगढी उपमहानगरपालिकाका कर्मचारी, शैलेश्वरी फारवेष्ट कलेज अफ हेल्थ साइन्सका विद्यार्थी तथा शिक्षक, याक नेपाल, ओरेक नेपाल, लेडिज जेसीस लगायत संघसंस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो ।

 

द्वीप प्रज्ज्वलन्


गणतन्त्र दिवसका अवसरमा सोमबार साँझ धनगढी जेसीसको आयोजनामा धनगढीको पार्कमोडमा द्वीप प्रज्ज्वलन गरियो ।
सो अवसरमा धनगढी जेसीसका अध्यक्ष टेकराज पनेरू, धनगढी लेडिज जेसीसका अध्यक्ष संगीता खड्का, लगायत जेसीहरूको सहभागिता रहेको थियो ।
यस्तै, सोमबार साँझ धनगढीका विभिन्न सरकारी कार्यालयमा दिपावली गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार