२३ बैशाख २०८१, आईतवार

काँग्रेस प्रदेश नम्बर ७ उम्मेदवारको टुंगो लगाउँदै



धनगढी । आसन्न स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेसले प्रदेश नम्बर ७ मा उम्मेदवारी चयन अन्तिम चरणमा पुर्‍याएको छ ।
अहिलेसम्म प्रदेश नम्बर ७ का सबै सात पहाडी जिल्लाका स्थानीय तहमा उम्मेदवारको टुंगो लगाइएको छ । कैलालीमा धनगढी उपमहानगरपालिकाको मेयर तथा उपमेयरका उम्मेदवारको पनि आज (सोमबार) टुंगो लाग्ने एक जना केन्द्रीय नेताले बताए । कैलालीका गाउँपालिकाहरूमा भने उम्मेदवारको टुंगो लागिसकेको छ ।
उम्मेदवार टुंगो लगाउने क्रममा अछामका लगभग सबै स्थानीय तहमा उम्मेदवारहरूको टुंगो लागेको जनाइएको छ । यद्यपि, आइतबार साँझसम्म नगरपालिकाका उम्मेदवारहरूको आधिकारिक घोषणा गरिएको छैन ।
जिल्लाको सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिकाको प्रमुखमा चन्द्रप्रसाद ढुंगानालाई उम्मेदवार छनोट गरिएको छ ।
त्यस्तै, साँफेबगर नगरपालिकाको प्रमुखमा ध्वजबहादुर कुँवरलाई उम्मेदवार चयन गरिएको छ । सो नगरपालिकाको उपप्रमुखमा रूपा आउजी वा राधिका भूजेलमध्ये एक जनालाई टिकट दिइने स्रोतले जनाएको छ ।
त्यस्तै, कमलबजार नगरपालिकाको प्रमुखमा यज्ञ ढकाल र पञ्चदेवल विनायक नगरपालिकाको प्रमुखमा देवराज देवकोटालाई उम्मेदवार छनोट गरिएको छ ।
जिल्लाका छ वटा गाउँपालिकामा पनि उम्मेदवारको टुंगो लागेको छ । नेपाली काँग्रेस अछामका अनुसार चौरपाटी गाउँपालिकाको अध्यक्षमा भीम साउँद र उपाध्यक्षमा माया कुँवर, मेल्लेख गाउँपालिकाको अध्यक्षमा धनबहादुर शाह र रामारोशन गाउँपालिकाको अध्यक्षमा अनुराधा स्वाँर तथा उपाध्यक्षमा चन्द्र विकलाई उम्मेदवार बनाइएको छ ।
त्यस्तै, तुर्माखाद गाउँपालिकामा पुष्पराज शर्मालाई अध्यक्ष तथा अमृता बुढालाई उपाध्यक्ष, बान्नीगढीजयगढ गाउँपालिकामा टेकबहादुर साउँद र उपाध्यक्षमा पशुपति खड्का तथा ढकारी गाउँपालिकामा धनवीरे बुढालाई अध्यक्षको उम्मेदवार चयन गरिएको छ ।

 

डोटीमा उम्मेदवारको टुंगो लाग्यो
त्यस्तै, डोटीका सबै ७ गाउँपालिका तथा दुईमध्ये एक नगरपालिकामा पनि उम्मेदवारहरूको टुंगो लागेको छ ।
डोटी काँग्रेस स्रोतका अनुसार शिखर नगरपालिकाको प्रमुखमा सीताराम जोशी र उपप्रमुखमा धौलीदेवी रावललाई उम्मेदवार छनोट गरिएको छ ।
नेपाली काँग्रेस डोटीका अनुसार पूर्वीचौकी गाउँपालिकामा रामप्रसाद उपाध्यायलाई अध्यक्ष तथा माया कुँवरलाई उपाध्यक्षको उम्मेदवार चयन गरिएको छ ।
त्यस्तै, सायल गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा धर्मराज जोशी र पूर्णमाया थापा बिष्टलाई उम्मेदवार छनोट गरिएको छ ।
आदश गाउँपालिकाको अध्यक्षमा लक्ष्मण सिंह र उपाध्यक्षमा कृष्णा ओझालाई टिकट दिइएको छ । भने केआइसिंह गाउँपालिकामा लोकेन्द्रबहादुर शाहीलाई अध्यक्ष तथा मीना बिष्टलाई उपाध्यक्षको उम्मेदवार बनाइएको छ ।
त्यस्तै, बोगटान गाउँपालिकाको अध्यक्षमा डिलबहादुर बम तथा उपाध्यक्षमा विष्णा बमलाई उम्मेदवार चयन गरिएको छ । बडीकेदार गाउँपालिकामा कृष्णबहादुर चन्दलाई अध्यक्ष तथा ईन्द्रा बोहरा भाटलाई उपाध्यक्ष र जोरायल गाउँपालिकामा दीपक बिष्टलाई अध्यक्ष र भावना बमलाई उपाध्यक्षको उम्मेदवार चयन गरिएको छ ।
नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्न आकांक्षीको नामावलीसहित केन्द्रीय समितिमा पठाइएको थियो ।
सदरमुकाम समेत रहेको दिपायल सिलगढी नगरपालिकामा अझैं उम्मेदवारको टुंगो लाग्न नसकेको जनाइएको छ ।
डोटी काँग्रेस स्रोतका अनुसार दिपायल सिलगढी नगरपालिकामा बाजिसिंह खड्का (विजय) र सुशील घर्तीमध्ये एक जना नगरप्रमुख पदको उम्मेदवार चयन हुँदैछन् ।

 

बझाङमा काँग्रेसका उम्मेदवारहरू
उता, बझाङको जयपृथ्वी नगरपालिकाको प्रमुखमा चेतराज बजाललाई उम्मेदवार छनोट गरिएको छ । बजाल बझाङका जिविस सभापति समेत रहिसकेका छन् । सो नगरपालिकाको उपप्रमुखमा अमृता सिंहलाई उम्मेदवार बनाइएको छ ।
सो नगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा डम्बरबहादुर सिंह, २ मा शुक्रराज जोशी, ३ मा प्रेमबहादुर खड्का, ४ मा गगन खाती र ५ मा डम्बरबहादुर सिंहलाई वडाध्यक्षको उम्मेदवार बनाइएको छ ।
त्यस्तै, वडा नम्बर ७ मा दिलबहादुर बोहरा, ७ मा गोरख सिंह, ८ मा नवराज कोइराला, ९ मा कृष्ण धामी, १० मा दलबहादुर बिष्ट र वडा नम्बर ११ मा ललित थापालाई अध्यक्षको उम्मेदवार चयन गरिएको छ ।
जिल्लाको अर्को नगरपालिका बुंगलमा धनबहादुर बिष्टलाई प्रमुख र मीना जाग्रीलाई उपप्रमुखको उम्मेदवार चयन गरिएको छ ।
काँडा गाउँपालिका राजेन्द्र धामीलाई अध्यक्ष र डोल्मा तामाङलाई उपाध्यक्ष, तल्कोट गाउँपालिकाको अध्यक्षमा राजेन्द्र सिंह र उपाध्यक्षमा जयकुमारी ऐरी, मष्टा गाउँपालिकाको अध्यक्षमा ज्ञानबहादुर बोहरा र उपाध्यक्षमा देवी सेठी तथा छबिसपाथिभेरा गाउँपालिकाको अध्यक्षमा ढल कठायत र उपाध्यक्षमा कलशा देवीलाई उम्मेदवार छनोट गरिएको छ ।
त्यस्तै, सुर्मा गाउँपालिकाको अध्यक्षमा नरबहादुर बोहरा तथा उपाध्यक्षमा सुनीता पुजारा, दुर्गाथली गाउँपालिकाको अध्यक्षमा जनक दौल्याल तथा उपाध्यक्षमा शान्ति महत, वित्थडचिर गाउँपालिकाको अध्यक्षमा धनबहादुर खड्का तथा उपाध्यक्षमा सिता बिष्ट, थलारा गाउँपालिकामा राम खातीलाई अध्यक्ष पदको उम्मेदवार चयन गरिएको जनाइएको छ ।
त्यस्तै, खप्तडछान्ना गाउँपालिकाको अध्यक्षमा वर्क रोकाया र उपाध्यक्षमा धिरा खत्री तथा केदारस्यू गाउँपालिकाको अध्यक्षमा रमेश भण्डारी र उपाध्यक्षमा मनिशा धामीलाई अघि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार