२३ बैशाख २०८१, आईतवार

काँग्रेसले डोटीमा उम्मेदवार छान्यो



धनगढी । आगामी ३१ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेसले डोटीका सबै ७ गाउँपालिकामा उम्मेदवारहरूको टुंगो लगाएको छ ।
डोटीमा दुई नगरपालिका रहेकोमा एउटामा उम्मेदवारको टुंगो लागे पनि अर्कोमा भने अझैं केही समय लाग्ने जनाइएको छ ।
नेपाली काँग्रेस डोटीका अनुसार पूर्वीचौकी गाउँपालिकामा रामप्रसाद उपाध्यायलाई अध्यक्ष तथा माया कुँवरलाई उपाध्यक्षको उम्मेदवार चयन गरिएको छ ।
त्यस्तै, सायल गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा धर्मराज जोशी र पूर्णमाया थापा बिष्टलाई उम्मेदवार छनोट गरिएको छ ।
आदर्श गाउँपालिकाको अध्यक्षमा लक्ष्मण सिंह र उपाध्यक्षमा कृष्णा ओझालाई टिकट दिइएको छ । भने केआइसिंह गाउँपालिकामा लोकेन्द्रबहादुर शाहीलाई अध्यक्ष तथा मीना बिष्टलाई उपाध्यक्षको उम्मेदवार बनाइएको छ ।
त्यस्तै, बोगटान गाउँपालिकाको अध्यक्षमा डिलबहादुर बम तथा उपाध्यक्षमा बिष्णा बमलाई उम्मेदवार चयन गरिएको छ । बडीकेदार गाउँपालिकामा कृष्णबहादुर चन्दलाई अध्यक्ष तथा ईन्द्रा बोहरा भाटलाई उपाध्यक्ष र जोरायल गाउँपालिकामा दिपक बिष्टलाई अध्यक्ष र भावना बमलाई उपाध्यक्षको उम्मेदवार चयन गरिएको छ ।
नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्न आकांक्षीको नामावलीसहित केन्द्रीय समितिमा पठाइएकोमा शिखर नगरपालिकाको टुंगो लागेको छ । सो नगरपालिकामा प्रमुखमा सीताराम जोशी र उपप्रमुखमा धौलीदेवी रावललाई उम्मेदवार छनोट गरिएको छ ।
सदरमुकाम समेत रहेको दिपायल सिलगढी नगरपालिकामा अझैं उम्मेदवारको टुंगो लाग्न नसकेको जनाइएको छ । डोटी काँग्रेस स्रोतका अनुसार दिपायल सिलगढी नगरपालिकामा बाजिसिंह खड्का (विजय) र सुशील घर्तीमध्ये एक जना नगरप्रमुख पदको उम्मेदवार चयन हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार