२३ बैशाख २०८१, आईतवार

गणतन्त्रको दश वर्ष : तीन दिनसम्म दिपावलीसहित विभिन्न कार्यक्रम आयोजना हुँदै



धनगढी । गणतन्त्र आएको दश वर्ष प्रवेशका अवसरमा आजदेखि तीन दिनसम्म देशभरी विभिन्न कार्यक्रमसहित धुमधामसंग मनाइँदै छ ।
२०६२/०६३ को जनआन्दोलनको जगमा निर्वाचनद्वारा गठित संविधान सभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई संंघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । यससंगै झण्डै अढाई सय वर्ष पुरानो राजतन्त्र समाप्त भएको थियो ।
सशस्त्र युद्धमा रहेको तत्कालीन माओवादी र संसदवादी सात दलबीच भएको १२ बुँदे सहमतिपछि नेपालमा निरंकुशताको समाप्ती, माओवादी सशस्त्र युद्धको अन्त्य र माओवादीको मुल राजनीतिक प्रवाहमा समाहित, बृहत् शान्ति प्रक्रियाको शुरुवातदेखि बिघठित संसदको पुस्र्थापनादेखि संविधान सभाबाट निकासको प्रक्रियाले मूर्तरुप पाएको थियो ।
गणतन्त्र दिवसका सन्दर्भमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा घोषित कार्यक्रमअनुसार जेठ १४, १५ र १६ गते राष्ट्रिय तथा जिल्ला स्तरमा विभिन्न कार्यक्रम आयोजना गरिँदै आएको छ ।
कार्यक्रमअन्तर्गत आज (आइतबार) कैलाली जिल्ला समन्वय समितिले गणतन्त्र दिवसबारे प्रचारप्रसार, गणतन्त्रको महत्त्वबारे परिसंवाद, नगर सरसफाई लगायतका कार्यक्रम तय गरिएको कैलालीका स्थानीय विकास अधिकारी केशवप्रसाद विमलीले बताए ।
शुक्रबार कैलालीका स्थानीय विकास अधिकारी विमलीको अध्यक्षतामा बसेको बैठकले जिल्ला स्तरमा तीन दिन विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको जनाइएको छ ,
स्थानीय विकास अधिकारी विमलीले जेठ १५ गते बिहान धनगढीमा र्‍याली निकालिने र गणतन्त्र दिवसको महत्त्वबारे कार्यक्रम गर्ने निर्णय भएको बताए । गणतन्त्र दिवसका अवसरमा आजदेखि तीन दिन साँझ दिपावली गरिने छ । स्थानीय विकास अधिकारी विमलीले गणतन्त्र दिवस धुमाधामसंग मनाउन सबैलाई घरघरमा दिपावली गर्न आह्वान गरे ।
अस्पतालमा सरसफाई गरिने
गणतन्त्र दिवसको अवसरमा जिल्ला युवा समिति, कैलालीले सेती अञ्चल अस्पतालमा सरसफाई कार्यक्रम आयोजना गरेको छ ।
शनिबार युवा समितिले धनगढीमा गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष शम्भु कुँवरले युवाहरूमा सामाजिक उत्तरदायित्त्वको भावना बृद्धि गर्न, सामाजिक कार्यमा युवा सहभागिता बढाउन र समाज र युवाबीचको सम्बन्ध सुदृढ गर्ने उद्देश्यले सो कार्यक्रम अयोजना गरिएको बताए ।
जिल्ला युवा समितिले विभिन्न विषयमा परामर्श, जनचेतना तथा क्षमता अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार