२३ बैशाख २०८१, आईतवार

बृद्ध दम्पत्ति हत्याकाण्ड : मुख्य अभियुक्त पक्राउ, योजनाकार फरार



धनगढी । गत ७ गते राति धनगढी उपमहानगरपालिका वडा नम्बर ७, देवहरिया, छात्रावासटोलका बृद्ध दम्पत्तीको हत्या घटनामा प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गर्नुका साथै अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार सो हत्याकाण्डको मुख्य योजनाकारहरू भने फरार रहेका छन् ।
गत ७ गते राति धनगढी उपमहानगरपालिका–७, देवहरिया, छात्रावास टोल घर भएका ७२ वर्षीय बद्रिप्रसाद जोशी र उनकी श्रीमती ६५ वर्षीया कुन्ति जोशीको नृशंस ढंगले हत्या गरिएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा सो हत्याकाण्डमा बझाङ थलारा गाउँपालिकाा–३ का २० वर्षीया पूजा बटाला र उनकी आमा लक्ष्मी ओली मुख्य अभियुक्त रहेको खुलेको छ । हत्याकाण्डका मुख्य योजनाकार नरेशबहादुर भण्डारी रहेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ । मुख्य योजनाकार भण्डारी र अभियुक्त लक्ष्मी घटनालगत्तै फरार रहेको प्रहरीले जनाएको छ । भण्डारी पूजाका मामा हुन् ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीले सो हत्याकाण्डको हालसम्मको अनुसन्धानबारे जानकारी दिँदै लक्ष्मी र नरेशको व्यापक खोजी भइरहेको जनाएको छ ।
कैलालीका प्रहरी प्रमुख अर्जुन चन्दले अभियुक्तद्वय लक्ष्मी र नरेशको खोजतलासका लागि भारतीय प्रहरीको सहयोग लिइएको जानकारी दिए ।

मृतक जोशी दम्पत्ती

एसपी चन्दले यो हत्याकाण्डको अनुसन्धानका लागि प्रहरीले पोलीग्राफी मेसिन तथा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा सो हत्याकाण्ड बृद्ध जोशी दम्पत्तीको घरसम्पत्ती हडप्ने नियतबाट भएको खुलेको छ ।
प्रहरी हिरासतमा रहेकी अभियुक्त पूजाको बयान उदृत गर्दै एसपी चन्दले भने– ‘आमा (लक्ष्मी) ले मेरो नाममा घरजग्गा पास गर्न भनेर मलाई बझाङबाट बोलाउनुभयो । सोमबार म, आमा (लक्ष्मी) र मामा (नरेश) मालपोत कार्यालय गयौं र बकसपत्र गरेर आफ्नो नाममा घरजग्गा गर्‍यौं, तर बृद्ध जोशी दम्पत्तीले घर छोड्न मानेनन् ।’
प्रहरीका अनुसार पूजालाई लक्ष्मीले बृद्ध बद्रिप्रशाद जोशीसँग मितबुवाको सम्बन्ध रहेको बताएकी थिइन् । लक्ष्मीले बाहिरी रूपमा सो घर आफ्नै भएको देखाउन पूजाका नाममा देखावटी रूपमा घर बकसपत्र गरिदिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
हत्या ७ गते सोमबार साँझ ४ देखि ६ बजेको बीचमा भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनास्थलमा फलामे पाइप, एक थान चक्कु पनि फेला परेको थियो ।
भारतमा रोजगारी गर्ने लक्ष्मीले धनगढीमा घर किन्ने उद्देश्यले नरेश भण्डारीलाई पठाएको बताइन्छ । नरेशले बृद्ध बद्रिको घरमा परिवारका अन्य सदस्य नबस्ने गरेको थाहा पाएपछि सो घर हडप्ने योजना बनेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
प्रहरी उपरीक्षक चन्दका अनुसार उनीहरूले बद्रिको घर हड्प्ने योजना छ महिना पहिले बनाएको र भारतमा बस्ने लक्ष्मी, राजा ओली र हरिस ओली छ दिन पहिले धनगढी आएका थिए ।
जिल्ला प्रहरी प्रमुख चन्दका अनुसार अभियुक्त राजा र हरिश पेशेवर हत्यारा हुन् ।
अभियुक्तहरूले घरमा एक्लै रहेका बद्रीमाथि शुरुमा फलामे रडबाट प्रहार गरेर मारेको र पछि बजारबाट सामान ल्यार घर आएकी कुन्तिलाई पनि रड प्रहार गरी हत्या गरेका थिए ।
बृद्ध जोशी दम्पत्तीको हत्यापछि पूजाकी आमा र मामाले ‘एकछिनमा आउछौं’ भनेर उनलाई त्यहाँ कुर्न लगाएर फरार भएको पूजाले बयानका क्रममा बताएकी छिन् ।
पूजाले सासु, ससुरालाई समेत आफ्नो आमा (लक्ष्मी) ले धनगढीमा घर किनेकोले बझाङबाट धनगढी बोलाएकी थिइन् । उनीहरूले सो दिन घर किनेको भन्दै खसी काटेर भोजभतेर समेत गरेका थिए ।

 

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार