२१ बैशाख २०८१, शुक्रबार

प्रहरी टोलीमाथि आक्रमण



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १, शान्तिनगरटोलमा बिहीबार राति प्रहरी गस्तीटोलीमाथि आक्रमण भएको छ ।
टोलमा झगडा भएको खबरपछि गस्तीमा गएको वडा प्रहरी कार्यालय, धनगढीका इञ्चार्ज (प्रहरी निरीक्षक) जयसिंह बिष्ट नेतृत्वको प्रहरी टोलीमाथि स्थानीय युवाहरूको एक जत्थाले सांघातिक आक्रमण गरेको थियो ।
प्रहरी निरीक्षक बिष्टका अनुसार सो टोलका एक युवाले आफूलाई स्थानीय विरु नेपाली भन्ने युवकले कुटपिट गरेको प्रहरी कन्ट्रोल रुममा उजुरी गरेपछि प्रहरी टोली परिचालन भएको थियो ।
‘हामी विरुलाई पक्राउ गर्न त्यहाँ पुग्यौं’ प्रहरी निरीक्षक बिष्टले भने– ‘तर, त्यहाँ पुग्ने वित्तिकै २०/२५ जना युवाको हुलले हामीमाथि एकाएक आक्रमण गरे ।’ हुलले ‘प्रहरी इञ्चार्ज कहाँ छ ?’ भन्दै प्रहरी टोलीमाथि कुटपिट गरेको थियो । कुटपिटबाट प्रहरी भ्यान चालक, प्रहरी निरीक्षकका अंगरक्षकसहित ५/६ जना प्रहरी सुरक्षाकर्मी घाइते भएको उनले बताए ।
कुटपिटमा संलग्न भएकाहरूले प्रहरीका दुई थान मोबाइल फोन पनि लुटेर लगेको उनले बताए । ‘आक्रमणकारीले प्रहरीको हतियार समेत खोस्ने प्रयास गरेका थिए’ प्रहरी निरीक्षक बिष्टले टोलीमा थोरै सुरक्षाकर्मी रहेको बताए ।
प्रहरी गस्ती टोलीमाथि आक्रमण भएपछि सशस्त्र प्रहरीसहितको थप प्रहरी स्थिति नियन्त्रणका लागि घटनास्थल पुगेको थियो ।
प्रहरीले आक्रमणमा संलग्न रहेका मध्ये डब्बु मल्ल, टेक मल्ल र तेजेन्द्र फुलारालाई नियन्त्रणमा लिएका जनाएको छ ।
कैलालीका प्रहरी प्रमुख एसपी अर्जुन चन्द ठकुरीले घटनाको छानबिन भइरहेको बताए । उनले प्रहरी नियन्त्रणमा रहेका घटनामा संलग्न अभियक्तहरूलाई छुटाउन राजनीतिक दलबाट दबाव आइरहेको बताए । ‘आक्रमणमा संलग्न रहेकाहरूलाई छुटाउन व्यापक राजनीतिक दबाव आइरहेको छ’ एसपी चन्दले तर उनीहरूलाई कानून बमोजिमको कारवाही गरिने दृढता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार