१ जेष्ठ २०८१, मंगलवार

न्यायको झण्डा बोकेर उच्च मनोवलका साथ जनतामा जानुस : रावल



धनगढी । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष भीम रावलले पार्टीका उम्मेदवारहरूलाई न्यायको झण्डा बोकेर उच्च मनोवलका साथ जनतामा जान निर्देशन दिएका छन् ।
बुधबार धनगढी उपमहानगरपालिकाका उम्मेदवारको घोषणा सभालाई सम्वोधन गर्दे रावलले पार्टीले बोकेको देशभक्ति, कानूनी शासन, मानव अधिकार, सामाजिक न्याय, समानता, एकता, सामाजिक सदभावको नीतिलाई स्थानीय तहसम्म स्थापित गर्न एमालेले जित्नु पर्ने धारणा राखे ।
‘यो निर्वाचन कुनै उम्मेदवारलाई जिताउने र हराउनका लागि नभई यो चुनाव शान्तिको पक्षमा कि हिसाका पक्षमा जाने ? स्वतन्त्रता, स्वाधिनता, अखण्डताका पक्षमा जाने कि पहाड तराई टुक्रयाएर बाहुन, दलित थारु राइ लिम्व भनेर द्वन्द्व गराएर समाजलाई टुक्राटुक्रा बनाउने कि सबैलाई एकजुट बनाएर संमृद्धि तिर जाने भन्ने विषयको लडाई हो’, रावलले थपे, ‘१० वर्षे हिंसाका जस्तै दुखका दिन ल्याउने, टीकापुर जस्तो घटना बनाइ सोझा थारुहरूलाई जेल पठाउने कि यस्ता हिंसाको अन्त्य गर्ने भन्ने विषयमा जनता सचेत हुने बेला आएको छ ।’
एमाले कानूनी शासनको पक्षमा रहेको दावी गर्दै नेता रावलले सरकार पनि संविधान अन्तरगत बनेकाले उसलाई पनि संविधान मिच्ने अधिकार नभएको बताए । ‘आधा चुनाव भैसकेपछि स्थानीय तहको संख्या फेरबदल गर्दैछ,’ रावलले भने, ‘काग्रेस माओवादी गठवन्धन सरकार स्वेच्छाचारी भयो । ३३ अर्ब खर्चेर बनाएको संविधान कार्यान्वयन गरी मैथली भोजपुरी, थारु भाषाको रक्षा गर्दै जनता खुशी बनाउनुको सट्टा झस्केलाबाट हिन्दी छिराउने कसरत गर्दैछ ।’
काग्रेस माओवादी गठवनधनले नेपालको न्यायिक इतिहासमा पहिलो, अन्तराष्ट्रिय समुदायमा नेपालकै गौरवको विषय बनेको महिला प्रधानन्याधिशलाई महाअभियोग लगाएर अपमानपूर्ण व्यवहार गरेको आरोप पनि लगाए ।
नेकपा एमालेले जनचाहाना अनुसार स्वाधिन राज्य, देशबाट हत्या हिंसाको अन्त्य, समुदायको विभाजन होइन सबै जातीय एकतासहितको समृद्ध राष्ट बनाउने लक्ष्य राखेको र शान्ति र संविधानमाथि आच आउने काम कसैबाट हुन नदिन बताए । उनले जनताको हितमा कसरी काम गर्ने र राष्ट्रलाई कसरी समृद्ध बनाउने भन्ने अनुभव एमालेसंग भएको र नेकपा एमालेले गरेका काम, दृढता, मुल्यलाई सम्मान गरेर पहिलो चरणको निर्वाचनमा मत व्यक्त गरिसकेको दावी गरे ।
कैलाली बहुमुखी क्याम्पसमा एमाले निकटको अनेरास्ववियूको जित हुनै लाग्दा काग्रेस निकटको संगठन नेविसंघका नेताहरूले मतपत्र च्यातेर लोकतन्त्रको उपहास गरेको पनि रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार