२० बैशाख २०८१, बिहीबार

पाशविक ढंगले दम्पत्तीको हत्या



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७, देवरियास्थित छात्रावास टोलमा एक बृद्ध दम्पत्तीको पाशविक ढंगबाट हत्या भएको छ ।
छात्रावास टोलका ७२ वर्षीय बद्रीप्रसाद जोशी र उनकी ६५ वर्षीया श्रीमति कुन्ती जोशीको आइतबार राति उनकै घरमा हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक जोशी अवकाश प्राप्त शिक्षक हुन् ।
जोशी दम्पत्तीको शव उनको घरको एक कोठामा पलङमा क्षतविक्षत अवस्थामा फेला परेको थियो । दुवै जनाको टाउको, अनुहारसहित शरीरका विभिन्न भागमा जताततै चोटैचोट रहेको पाइएको छ । रक्ताम्य र क्षतविक्षत अवस्थामा रहेका शव रहेको पलङको तल भूईमा रगत लत्पतिएको एउटा फलामे रड समेत फेला परेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान एकजना छिमेकी महिलाले जोशीको घरको एउटा कोठा बाहिरबाट ताल्चा लागेको र अरु कोठाहरू खुलै रहेको देखेपछि शंका लागेर जोशीको छोरीलाई खबर गरेको बताइन्छ । उनकी छोरीले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले सो कोठाको ताल्चा तोडेको थियो । ‘भित्र पलङमा विभत्स अवस्थामा दुवै जनाको शव थियो’ कैलालीका प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले भने– ‘दुवैको शरीरभरी धारिलो हतियारको गहिरा घाउचोट थिए ।’
छिमेकीका अनुसार आइतबार अबेर रातिसम्म बृद्ध जोशी दम्पत्तीको घरमा भोज चलेको थियो । उनको घरको भुइतलामा भाडामा बस्ने भागीराम चौधरीका अनुसार आइतबार राति आठ बजेतिर २०/२२ जना जम्मा भएर खसी काटेर भोज गरेका र अबेर रातिसम्म नाचगान भएको थियो ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा सात जनालाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएका मध्ये एक जनाले दिएको बयानका आधारमा थप दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना फरार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक बुढामगरका अनुसार फरार भएका दुवै जनाको बिहान नौ बजेसम्म मोबाइल फोन सम्पर्क भएको पाइए पनि त्यसपछि सम्पर्कबिहीन रहेका छन् ।
प्रहरी नियन्त्रणमा रहेका मध्ये एक जनाको बयान उदृत गर्दै प्रहरी नायव उपरीक्षक बुढामगरले भने– ‘आइतबार म, आमा र मामा मालपोत कार्यालयमा जग्गासम्बन्धी काम गर्न गयौं । मालपोत कार्यालयमा काम सकिएपछि आमाले ‘घरमै पार्टी गर्नुपर्छ, सबै आफन्तहरूलाई बोलाउँ’ भन्नुभयो । हामीलाई भाडाको घरमा छोडेर आमा र मामा जोशीको घर जानुभयो । साँझ सात बजेतिर हामीलाई बोलाए । हामी त्यहाँ पुग्दा उहाँहरू हतारहतारमा घरबाट बाहिर निस्किदै थिए । आमा र मामा केही बेरमा आउँछु भनेर जानुभयो । पछि आमा र मामालाई पार्टीमा आउन पटकपटक फोन गरेर बोलाउँदा पनि आउनु भएन ।’
जोशी दम्पत्तीका चार छोरी र एक छोरा छन् । छोरा र एउटी छोरी विदेश गएका छन् भने एउटी विवाहित छोरी कैलाली बाहिर छिन् । दुई छोरी धनगढीमा नै बसोबास गर्छन् ।
कैलालीका प्रहरी प्रमुख एसपी अर्जुन चन्द ठकुरीले घटनाको अनुसन्धान भइरहेको बताए । एसपी ठकुरीले अझैं हत्याको कारण पत्ता लाग्न नसकेको बताए ।
डोटीको शिखर नगरपालिका (साविक जिजौडामाडौं गाविस) मा जन्मिएका जोशी शिक्षण पेशाबाट अवकाश पाएपछि सामान्य पुरोहती कार्य गर्दै आएका थिए ।
यता, बृद्ध जोशी दम्पत्तीको पाशविक ढंगबाट हत्या भएको विरोधमा छात्रावासटोलबासी तथा आफन्तले दिनभरी नै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा धर्ना र प्रदर्शन गरेका थिए ।
हत्यामा संलग्न भएकाहरूलाई यथासिघ्र पक्राउ गरी कडा कानूनी सजाय दिन माग गर्दै टोलबासी तथा आफन्तले धर्ना तथा प्रदर्शन गरेका थिए ।

 

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार