२३ बैशाख २०८१, आईतवार

धनगढीमा अवकाश प्राप्त शिक्षक दम्पत्तीको हत्या



धनगढी । धनगढी उपमहानगरपालिका–७, देवहरियास्थित छात्रावासटोलमा गए राति अवकाश प्राप्त शिक्षक दम्पत्तीको घरमै सुतेकै अवस्थामा हत्या भएको छ । आफन्तहरूले घटनाको अनुसन्धान गरेर दोषीलाई कारवाहीको माग गर्दै अहिले जिल्ला प्रहरी कार्यालयमा प्रदर्शन गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनगढीका अनुसार अवकाश प्राप्त शिक्षक ७२ वर्षिय बद्रीप्रसाद जोशी र उनकी ६५ वर्षिय श्रीमति कुन्ती जोशीको आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर गए राति हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
प्रहरीले स्थानीयवासीले दिएको जानकारीका आधारमा घटनास्थल पुग्दा कोठामा ताला लगाएको भेटिएको थियो । ताला तोडेर भित्र हेर्दा विभत्स अवस्थामा जोशी दम्पत्तीको शव फेला परेको हो जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए ।
उनले अनुहारमा धारिलो हतियारले छियाछिया हुने गरी प्रहार गरेको र उनीहरूको हत्याको आशंकामा जोशीको घरमा कोठा भाडामा लिएर बसेका समेत गरेर ७ जनालाई नियन्त्रणमा लिएको पनि बताए । आशंका गरिएका दुई जना फरार रहेको प्रहरीले जानकारी दिएको छ ।
जोशीको घरमा कोठा भाडामा लिएर भुइतलामा बस्दै आएका भागीराम चौधरीका अनुसार आइतबार गत राति ८ बजेतिर २० र २२ जनाको संख्यामा मानिसहरू आएर खसी काटेर भोज खाएर अबेर रातिसम्म नाचजान समेत गरेका थिए ।
जोशी दम्पत्तीका तीन छोरी र एक छोरा रहेका छन् । छोरा वैदेशिक रोजगारीको सिलसिलामा स्पेन र एउटा छोरी अष्ट्रेलिया र अर्को छोरी अमेरिकामा रहेको बताइएको छ भने जेठी छोरी धनगढीमै रहेकी छन् । शिक्षण पेशाबाट अवकास प्राप्त जोशी जजमानी पेशा गर्दै आइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार