२३ बैशाख २०८१, आईतवार

एमालेले धनगढीको मेयर/उपमेयर छान्यो



धनगढी । दोस्रो चरणको चुनाव जेठ ३१ का लागि नेकपा (एमाले)ले धनगढी उपमहानगरपालिका मेयर/उपमेयरका उम्मेदवार छानेको छ ।
केन्द्रीय कार्यालय काठमाडौं धुम्वाराहीमा बसेको स्थायी समितिको बैठकले धनगढीको मेयरमा दुर्गाप्रसाद जोशीलाई छनौट गरेको छ । यस्तै, उपमेयरमा उद्यमी रुक्मणि देवकोटालाई छानेको छ ।
मेयरका लागि जिल्ला र सात नम्बर प्रदेशले जोशी, पुराना नेता यज्ञराज बास्तोला र कलावति जोशीलाई मेयरको दावेदारका रूपमा नाम सिफारिस गरेको थियो । उपमेयरमा देवकोटा, छाया थापा र सुशीला बुढाथोकीको नाम पठाएको थियो । नगर र गाउँपालिकाका प्रमुख/उपप्रमुख प्रदेश कमिटीले र उपमहानगरका प्रमुखर उपप्रमुख केन्द्रले छान्ने एमालेको केन्द्रीय कमिटीको निर्णयअनुसार शनिबार जोशी र देवकोटा उम्मेदवार छानिएका हुन ।
राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका ४६ वर्षिय जोशीले आफू चुनाव जित्नेमा ढुक्क रहेको बताए ।
उनले पार्टी संगठन, पार्टीले बोकेको नीति र आफ्नो जनसम्पर्कले आफ्नो जीत सहज हुने बताए । जोशी कैलाली जिल्ला कमिटीको सचिवालय सदस्यका साथै शिक्षासेवी पनि हुन् ।
सात नम्बर प्रदेशले यसअघि यस क्षेत्रका ८७ वटा स्थानीय निकायका उम्मेदवार छानिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार