२३ बैशाख २०८१, आईतवार

प्रचण्ड बस्ने लाजिम्पाटमा एमालेको सेट नै विजयी



काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं २ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठसहितको प्यानल नै विजयी भएको छ ।
२ नम्बर वडामा लाजिम्पाट क्षेत्र पर्छ । जहाँ प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बसोबास गर्दै आएका छन् । यसअघि एमाले अध्यक्ष केपी ओलीको वडा सूर्यविनायक २ बालकोटमा कांग्रेसले जितेका बेला माओवादी अध्यक्ष प्रचण्ड बस्ने वडामा एमालेले विजयी झण्डा गाडेको हो ।
२ नम्बर वडामा एमाले उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ तेब्बर मतसहित वडा अध्यक्षमा निर्वाचित भएको काठमाडौंका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार श्रेष्ठले १८ सय ४० मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोद शर्माले ६८४ मत मात्रै ल्याए । जित पछि एमाले कार्यकर्ता तथा समर्थकले विजयी जुलुस निकालेका छन् ।
यस्तै वडा सदस्यमा पनि एमालेको प्यानल नै निर्वाचित भएको छ । वडा सदस्यहरुमा खुल्लातर्फ पदमकाजी महर्जन र विमल गुरूङ, महिला सदस्यमा पूर्णलक्ष्मी रजक र दलित महिला सदस्यमा ईश्वरी परियार विजयी भएका छन् ।
काठमाडौं महानगरपालिकाको वडा नं २ मा तीन हजार ४५१ मत खसेको थियो ।

१ नम्बर वडामा यसअघि नै जित हासिल
यसअघि एमालेले १ नम्बर वडा पनि जितेको थियो । वडा नं १ मा एमालेका तर्फबाट भरतलाल श्रेष्ठको प्यानल विजयी भएका छन् । काठमाडौँ महानगरपालिकाका बाँकी ३० वटा वडाको नतिजा आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार