२३ बैशाख २०८१, आईतवार

दोस्रो चरणको निर्वाचन : मतदाता शिक्षा कार्यक्रम शुरु



धनगढी । आगामी ३१ गते हुने स्थानीय तह, दोस्रो चरणको निर्वाचनलाई दृष्टिगत गरी कैलाली सहित ७ नम्बर प्रदेशमा शुक्रबारदेखि मतदाता शिक्षा शुरु भएको छ ।
प्रदेश नम्बर ७ र प्रदेश नम्बर १, २ र ५ मा आगामी ३१ गते दोस्रो चरणको निर्वाचन भइरहेको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीका अनुसार शुक्रबारदेखि प्रत्येक मतदान केन्द्रमा पर्ने प्रत्येक घरघरमा पुगेर मतदानको सही तरिका लगायतका पक्षमा मतदातालाई जानकारी दिने जनाएको छ ।
क्षेत्रीय निर्वाचन अधिकृत मोहनप्रसाद अर्यालले आम मतदाता र भावी मतदाता एवं अधिकाधिक सरोकारवालाहरूलाई सरल, सहज र तथ्यपूर्ण शिक्षा तथा सूचना उपलब्ध गराउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
मतदाता शिक्षा कार्यक्रम अन्तर्गत नमुना मतदान, राजनीतिक दल लगायत सरोकारवालाहरूसंग अन्तरक्रिया, र प्रत्येक घरमा गएर मतदातालाई सही मतदान तरिकाबारे जानकारी प्रवाह गर्ने उनले बताए ।
मतदाता शिक्षा कार्यक्रमका लागि कैलालीमा चार सय ९० जना मतदाता शिक्षा कार्यकर्ता/स्वयंसेवक खटाइएको छ । एक मतदान केन्द्रमा एक जना मतदाता शिक्षा कार्यकर्ता खटाइएको छ ।
सरकारले दुई चरणमा निर्वाचन गर्ने भएपछि कैलालीसहित प्रदेश नम्बर ७ मा बैशाख पहिलो साताबाट सञ्चालन भएको मतदाता शिक्षा कार्यक्रम पनि स्थगित भएको थियो ।
प्रदेश नम्बर ७ मा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी ८८ वटा स्थानीय तह रहेका छन् ।
क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार प्रदेश नम्बर ७ मा १३ लाख तीन हजार सात सय ६८ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार