२३ बैशाख २०८१, आईतवार

सरकारद्वारा थरुहट आन्दोलनका मुद्दा फिर्ता लिने निर्णय



धनगढी । सरकारले थरुहट आन्दोदनका मुद्दा फिर्ता लिने निर्णय गरेको छ । आज बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले थरुहट र मधेस आन्दोलनसंग सम्बन्धित मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सरकारले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रूपमा स्वीकार गरी त्यसमा संलग्न रहेकाहरू विरुद्ध लगाइएको मुद्दा फिर्ता लिने निर्णय भएको जानकारी दिए ।
सरकारको यस निर्णयले दुई वर्षअघि भदौ ७ गते थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरी थुनामा रहेका र मुद्दा चलाइएकाहरू रिहा हुने छन् । २०७२ साल भदौ ७ गते भएको टीकापुर घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएका थरुहट सम्वद्ध २२ जनालाई कर्तव्य ज्यान उद्योगमा कैलाली कारागारमा राखिएको छ । सो घटनामा एक वरिष्ठ प्रहरी उपरीक्षक सहित आठ सुरक्षाकर्मी र एक डेढ वर्षीय बालकको निर्मम हत्यो भएको थियो ।
सूचना तथा सञ्चार मन्त्री कार्कीका अनुसार मुद्दा फिर्ता सम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी, मन्त्रीपरिषद्को बैठकले स्थानीय चुनावमा काभ्रेको नमोबुद्धमा मारिएका नवराज पाठक र दोलखाको जुगुमा मारिएका कुलबहादुर तामाङलाई शहीद घोषणा गर्दै राहत रकम दिने निर्णय गरेको पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार