३१ भाद्र २०८१, सोमबार

दाहालको राजीनामा यही साताभित्रै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँग भएको समझदारीअनुसार नयाँ सरकार गठनका लागि जेठको पहिलो साताभित्रै पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्ने भएका छन् । दाहालले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको कुराकानीमा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । कांग्रेस–माओवादी केन्द्रबीच गठबन्धनमा दाहाल प्रधानमन्त्री बन्नुअघि नै आलोपालो सरकारको नेतृत्व लिने लिखित समझदारी भएको थियो ।
आलोपालो सरकारको नेतृत्व लिने विषयसँग सम्बन्धित पाँचबुँदे समझदारी अहिलेसम्म दुवै पक्षबाट सार्वजनिक भएको छैन । समझदारीको तेस्रो बुँदामा प्रधानमन्त्री दाहालले चैत मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने र त्यसपछिको चरणमा कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व लिने समझदारी छ । चैत मसान्तभित्र स्थानीय तहको निर्वाचन सम्भव नभएपछि पछिल्लो पटक कांग्रेस र माओवादी केन्द्रले वैशाख ३१ को पहिलो चरणको चुनावपछि सरकार नेतृत्व बदल्ने सहमति गरेका थिए ।
प्रधानमन्त्री दाहालले व्यवस्थापिका संसद्मा सम्बोधन गरेर राजीनामा दिने बताएका छन् । संसद् बैठक जेठ ४ का लागि बोलाइएको छ । सम्भवत: ५ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने र लगत्तै राजीनामा दिने तयारी रहेको बालुवाटार स्रोतले बतायो ।
दोस्रो चरणको निर्वाचन सफल बनाउन आग्रह
दाहालले पहिलो चरणको स्थानीय चुनाव सफलतापूर्वक सम्पन्न भएकाले दोस्रो चरणलाई पनि सफल बनाउन राजापाका नेताहरूसँग आग्रह गरे । ‘सबैको सहयोगका कारण यो सफल भएको हो,’ उनले नेताहरूलाई भने, ‘दोस्रो चरणको चुनावमा तपाईंहरूसमेत सहभागी हुनुपर्छ ।’ राजपाका नेताहरूले भने संविधान संशोधन, झापादेखि कञ्चनपुरसम्म स्थानीय निकायको संख्या विस्तार नभएसम्म चुनावमा भाग नलिने र सहयोग पनि नगर्ने जानकारी गराएका थिए ।
‘४ गते नै संविधान संशोधन हुने गरी मैले पहल गरेको छु,’ दाहालको भनाइ उद्धृत गर्दै राजपाका अर्का नेता राजेन्द्र महतोले भने, ‘तपाईंहरूलाई ढुक्क भएर अर्को चुनावमा सहभागी हुने वातावरण बनाउनेछु ।’ स्थानीय तहको संख्या विस्तार, आन्दोलनका क्रममा पक्राउ परेका मधेसीमाथिको झूटा मुद्दा फिर्ता लिने, सहिद घोषणालगायत विषयमा आगामी मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने दाहालले नेताहरूलाई जानकारी गराएका थिए ।
भेटमा राजपा नेपालको अध्यक्ष मण्डलका नेताहरू महन्थ ठाकुर, यादव, महतो, शरतसिंह भण्डारी र महेन्द्र यादव थिए ।

(समाचार एजेन्सी)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार