१० श्रावण २०८१, बिहीबार

कालिकोटमा विप्लव माओवादीले मतपेटिका खोसेर जलाए



काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिका अन्तर्गत पर्ने माल्कोटको नन्दादेवी मावि मतदान केन्द्रमा आइतबार बेलुका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकताले निर्वाचन टोलीमाथि ढुंगामुडा गरी मतपेटिका खोसेर जलाई दिएका छन् ।
८ सय ७९ मतदाता रहेको माल्कोटमा दिउँसो १२ बजेसम्म ५ सय ५० मत खसे पनि त्यसपछि मतदान गर्न कोही नआएको र बेलुकी ५ बजे मतदान केन्द्र बन्द गरेर गाउँपालिकाको केन्द्र कुमालगाउँ तर्फ आउने बेला विप्लव कार्यकताले ढुंगामुढा गरी मतपेटिका खोसेर जलाएका हुन् ।
प्रहरीले हवाइ फायरिङ गरे पनि निर्वाचन टोलीलाई घेराउ गरी मतपेटिका नियन्त्रणमा लिएर जलाएको प्रजिअ गिरीधारी सुवेदीले बताए । ‘मतपेटिका खोसेर जलाएका हुन्,’ प्रजिअ सुवेदीले भने, ‘निर्वाचन टोलीलाई रेस्क्यु गरेर कुमाल गाउँ तर्फ ल्याइँदैछ ।’
उनका अनुसार मुठभेडमा ४ स्थानीय र दुई प्रहरी घाइते भएका छन् । संचार सम्पर्क गर्न नसकिएकोले घाइतेको नाम खुल्न नसकेको प्रजिअ सुवेदीले बताए ।
विप्लव समूहका कार्यक्रताले ढुंगामुढा गरेपछि प्रहरीले दुई राउड हवाई फायर गरेको थियो । दोहोरो झडपमा परी प्रहरी तर्फ २ र विप्लव समुहका ४ गरी जम्मा ६ जना घाइते भएका छन् । विप्लव समूहले मतदान अधिकृतसहित मतदान कार्यका लागि खटीएको टोलीलाई विद्यालयमा घेराबन्दी गरेका थिए । प्रहरीले घेरा तोड्न गोली चलाउन खोज्दा राइफल नपड्केको र विप्लव माओवादीले मसाल जुलुससहित मतपेटीका कब्जा गरी लगेको एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा बताए ।
प्रहरीकाअनुसार सुरक्षाका हिसाब अति संवेदनशील मानिएको माल्कोटमा मतदान सकेर फर्किने क्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकताले सुरक्षाकर्मी माथि आक्रमण गरेका थिए । प्रहरीले सुरुमा हवाई फायरिङ गरे पनि पछि बन्दुक नपड्किएको भन्ने जानकारी आएको बताइएको छ । यसबारे कालिकोटका प्रहरी प्रमुख डिएसपी योगेन्द्रकुमार खड्कासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
प्रहरीहरु हाल सम्पर्कविहिन भएकोले घटनाको पूर्ण विवरण नआएको जनाउँदै प्रहरी प्रधान कार्यालयले भने घटनाको पुष्टि गरेको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीको प्रभाव क्षेत्र मानिएको माल्कोटमा सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनको दावी भए पनि मतपेटिका खोसेर जलाउँदासम्म नेपाली सेना, सशस्त्र कता थिए भन्ने पनि यकिन भएको छैन । प्रजिअ सुवेदीले गोली नेपाल आर्मीले नै चलाएको दावी गरे । ‘म अहिले टेन्सनमा छु,’ प्रजिअ सुवेदीले भने, ‘नेपाल आर्मी र विप्लव माओवादीबीच गोली चलेको हो । क्षतिबारे जानकारी प्राप्त भएको छैन ।’

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार