१० श्रावण २०८१, बिहीबार

आमसञ्चार नीतिसम्बन्धी क्षेत्रीय सम्मेलन



धनगढी । राष्ट्रिय आमसञ्चार नीति–२०७३ जारी भइसकेको सन्दर्भमा स्थानीय (प्रादेशिक) तहमा प्रभावकारी मिडियाको विकास र विस्तारमा पारेको र पार्ने प्रभावबारे समीक्षा गर्न आइतबार धनगढीमा क्षेत्रीय सम्मेलन भएको छ ।
‘राष्ट्रिय आमसञ्चार नीति–२०७३, प्रदेश नम्बर ७ का सन्दर्भमा’ विषयमा भएको क्षेत्रीय सम्मेलनमा नेपाल पत्रकार महासंघका सुदूरपश्चिमका सबै नौ जिल्लाका अध्यक्ष, सञ्चार क्षेत्रसँग आवद्ध पेसागत संगठन तथा सञ्चार गृहका प्रतिनिधिसमेत ३० जनाको सहभागिता रहेको थियो ।
सञ्चार प्रतिष्ठान नेपाल, कैलालीको आयोजनामा भएको क्षेत्रीय सम्मलेनमा राष्ट्रिय आमसञ्चार नीतिका सवल र कमजोर पक्ष, यसले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण तथा सम्वद्र्धनमा गर्ने योगदान, प्रादेशिक/स्थानीय मिडियाको विकासका लागि निर्वाह गर्ने भूमिका, प्रदेशको आवश्यकता र राष्ट्रिय सञ्चार नीति लगायतका पक्षमा व्यापक छलफल भएको थियो ।
त्यसैगरी, आमसञ्चार नीति–२०७३ ले लोकतान्त्रिकरण तथा सामाजिक रूपान्तरण प्रक्रियाको संवद्र्धनमा निर्वाह गर्ने भूमिका, परिवर्तित अवस्थामा आमसञ्चार क्षेत्रका सवाल सम्बोधनको अवस्था, प्रदेशको आवश्यकता र सञ्चार नीतिका व्यवस्था, सूचना प्रविधिमा आएको व्यापक परिवर्तनलाई सञ्चार नीतिले कसरी आत्मसात गरेको छ भन्ने लगायतका विषयमा पनि छलफल भएको थियो ।
‘यो सम्मेलनले स्थानीय मिडियालाई बढी जिम्मेवार र प्रभावकारी बनाउन प्रादेशिक सञ्चार नीति पनि आवश्यक रहेको निष्कर्ष दिएको छ’ कार्यक्रममा राष्ट्रिय सञ्चार नीतिका समग्र पक्षको विश्लेषणसहितको प्रस्तुति र सहजीकरण गरेका नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले भने– ‘त्यसैगरी प्रत्येक सञ्चार गृहको पनि सञ्चार नीति हुनुपर्छ भन्ने घच्घच्याएको छ ।’
उनले आमसञ्चार नीति सञ्चारकर्मी तथा सञ्चार गृहका लागि मात्र नभएको चर्चा गरे । ‘यो (सञ्चार नीति) आम नागरिकका लागि हो’ उनले विश्वव्यापी रूपमा स्वीकार गरिएका सञ्चार क्षेत्र तथा लोकतन्त्रका मूल्यमान्यतालाई आत्मसात गरेर नीति आएको बताए ।
कार्यक्रममा नेपाल प्रेस काउन्सिलका पूर्व सदस्य ऋषिराज लुम्सालीले राष्ट्रिय सञ्चार नीतिले नेपाली मिडियाको विकासमा कस्तो योगदान दिन्छ भन्ने आधारमा नै यो कति सवल वा कमजोर छ भन्ने पुष्टि गर्ने चर्चा गरे ।
नेपाल पत्रकार महासंघका पूर्व उपसभापति चित्राङ्ग थापाले नेपाली मिडियालाई नियन्त्रणको नभई निगरानीको आवश्यकता रहेको बताए । उनले अहिले पनि नेपाली मिडिया कुनै न कुनै रूपमा प्रभाव, अभाव र दबावको अवस्थामा रहेको चर्चा गरे ।
त्यस्तै, महासंघका पूर्व उपसभापति डीआर पन्तले मुलुक संघीय संरचनामा गइसकेको सन्दर्भमा प्रदेशमा कस्तो खालको सञ्चार नीति आवश्यक छ भन्ने बहस शुरु भएको बताए । उनले स्थानीय मिडिया स्वयंले पनि आफ्ना बारेमा आत्मसमीक्षा गर्नुपर्ने बताए ।
कार्यक्रम सञ्चार प्रतिष्ठान नेपालका अध्यक्ष प्रकाशबिक्रम शाहको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा पत्रकार एकिन्द्र तिमिल्सिनाले आमसञ्चार नीति र प्रदेश नम्बर ७ का सवाल विषयमा प्रस्तुति गरेका थिए ।
सम्मेलनमा नेपाल पत्रकार महासंघ, केन्द्रीय सदस्य भवानी ऐर, महासंघ कैलालीका अध्यक्ष जगत साउँद, कञ्चनपुरका अध्यक्ष बिष्णु अवस्थी, क्रियाशील महिला पत्रकारका उपाध्यक्ष अमिता कुँवर, प्रेस चौतारीका जिल्ला अध्यक्ष मीन ठकुरी, प्रेस युनियन कैलालीका उपाध्यक्ष भीम चौधरी, थारू पत्रकार संघका अध्यक्ष प्रेम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार