१६ बैशाख २०८१, आईतवार

पूर्ण खोपयुक्त क्षेत्र घोषणा



धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर १, ३ र ४ (साविक हसुलिया गाविस) लाई पूर्ण खोपयुक्त क्षेत्र घोषणा गरिएको छ ।
शनिबार कैलारी गाउँपालिकामा आयोजित एक विशेष कार्यक्रममा स्थानीय विकास अधिकारी केशवप्रसाद विमलीले वडा नम्बर १, ३ र ४ लाई पूर्ण खोपयुक्त क्षेत्र घोषणा गरे ।
युएसएड, साझेदारी विकास परियोजना, याक नेपाल, धनगढी र स्थानीय पूर्ण खोप समन्वय समिति, हसुलियाको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्थानीय विकास अधिकारी विमलीले पूर्ण खोपयुक्त घोषणा एवं सुनिश्चिततासम्बन्धी प्रतिवद्धतापत्र बाचन र हस्ताक्षर गरी घोषणा गरे ।
एक वर्षको अवधिमा ती वडाका १२ देखि २३ महिना उमेर समुहका एक सय ७१ बालबालिकाले सबै ११ प्रकारका खोपको पूरा मात्रा पाएपछि पूर्ण खोपयुक्त वडा घोषणा गरिएको जनाइएको छ ।
सो अवसरमा स्थानीय विकास अधिकारी विमलीले पूर्ण खोपयुक्त क्षेत्र घोषणा गरेर मात्र नहुने भएको दिगो बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए । उनले बालबालिकालाई सबै खोपको पूर्ण मात्रा दिइएमा ११ रोगबाट जोगाउनुका साथै रोगबाट हुने अकाल मृत्यु दर कम गर्न सकिने बताए । उनले बालबालिकाले पूर्ण खोप प्राप्त गर्दा बालबालिकाको उपचारका लागि हाल भइरहेको खर्च कम हुने र त्यो रकम शिक्षा क्षेत्रमा खर्च गर्न सकिने बताए ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीका बरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले कैलालीमा शिक्षित व्यक्तिको प्रतिशत धेरै रहे पनि जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्न चुनौति रहेको बताए ।
जनस्वास्थ्य प्रशासक चापागाईंले राज्यको पुननर्संरचना भएसंगै जिल्लामा कुनै पनि गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकालाई पूर्ण खोपयूक्त घोषणा गर्न नसकिएको बताए ।
उनले कैलालीमा अझै २० हजार बढी बालबालिका खोपबाट वञ्चित रहेकोले उनीहरूलाई खोपको पहुँचमा ल्याएर सन् २०१७ भित्र पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी भैरहेको बताए ।
कैलारी गाउँपालिका निमित्त प्रमुख बलराम चौधरीले गाउँपालिका खुल्ला दिसामुक्त भइसकेको बताए । उनले कैलालीका चार वडा अझैं पूर्ण खोपयुक्त घोषणा गर्न बाकी रहेकाले बताउँदै जिल्लामा पहिलो खोपयुक्त गाउँपालिका बनाउने लक्ष्यसहित काम गरिरहेको बताए ।
वडा सचिव विमलप्रकाश जोशीको अध्यक्षतामा भएको कार्यक्रममा याक नेपाल कैलालीका अध्यक्ष भागरथी सिंह, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
हसुलिया स्वास्थ्य चौकी प्रमुख रितेश जैसवालले स्वागत गरेको कार्यक्रमको सञ्चालन याक नेपालकी सामाजिक परिचालक रामगुलावी चौधरीले गरेकी थिइन् ।
कार्यक्रममा पूर्ण खोपयुक्त वडा घोषणा गर्ने अभियानमा सहयोग पुर्‍याउने वडा नागरिक मञ्चका संयोजक, भलमन्सा, महिला स्वयंसेविका, आमा समूह, राजनीतिककर्मी लगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार