४ जेष्ठ २०८१, शुक्रबार

रुढिवादी संस्कारका कारण कुरीति हटाउन गाह्रो



धनगढी । समाजमा विद्यमान रुढीवादी संस्कारका कारण सामाजिक कुरीतिहरूको अन्त्य गाह्रो भइरहेको छ । पश्चिमी नेपालमा वर्षौदेखि जरा गाडेर रहेका बाल विवाह, छाउपडी जस्ता कुप्रथाको न्युनिकरणमा कठिनाई भइरहेको सरोकारवालाको अनुभव रहेको छ ।
ओरेक नेपाल, धनगढीको आयोजनामा मंगलबार भएको ‘परम्परागत हानिकारक अभ्यासहरुलाई न्युनिकरण गर्नका लागि धार्मिक गुरु वा अगुवा सरोकारवालाहरुसंग गरिएको अन्तक्रिया’ कार्यक्रममा सहभागीहरूले सामाजिक तथा सांस्कृतिक कुसंस्कारहरूलाई कुनै पनि नाममा निरन्तरता दिन नहुने बताए ।
सामाजिक अगुवा धनपती ढुंगेलले सामाजिक कुरितिहरूलाई धार्मिक तथा जातीय मुद्दा बनाउने प्रवृत्तिले न्युनिकरण गर्न कठिनाई रहेको चर्चा गरे । उनले धर्मग्रन्थहरूमा सामाजिक तथा सांस्कृतिक कुरीतिहरूलाई बढावा दिने खालका प्रसंग रहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति, कैलालीका योजना कार्यक्रम अधिकृत यगम कलेलले गलत धार्मिक मान्यताहरुलाई परिवर्तन गर्नुपर्ने बताए । उनले विभिन्न अवसरमा ठूल्ठूला भाषण गर्ने, तर व्यवहारमा परिवर्तन गर्न नचाहने प्रवृत्तिका कारण बालविवाह, छाउपडी प्रथा जस्ता कुप्रथा उन्मुलन हुन नसकेको चर्चा गरे ।
प्रज्ञा अभियान गायत्री परिवार धनगढीका अध्यक्ष बलराम धामीले सामाजिक रितिरिवाजलाई कता तिर डोर्‍याउने भन्ने जिम्मेवारी सामाजिक अगुवाहरुमा हुने भएकाले आ आफ्नो क्षेत्रमा संवेदन शिल हुन आवश्यक रहेको बताए ।
अधिवक्तका गम्भिरसिंह ऐरले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न नेपाल सरकारको मिति २०६३ बैशाख २६ गतेको निर्णयले छाउपडी प्रथालाई कुरिती भनि घोषणा गरीसकेको भए पनि व्यवहारमा लागुगर्न गाउँसमाज, पीडित, पीडक सबैको सामुहिक प्रयास आवश्यक रहेको बताए ।
ओरेक नेपालकी संयोजक विन्दु रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन ओरेक नेपालकी कार्यक्रम संयोजक सरिता चौधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार