२ जेष्ठ २०८१, बुधबार

बाजुरामा कांग्रेसलाई पढेलेखेका उठाउने दवाव



मार्तडी (बाजुरा) । एमालेले पढेलेखेकालाई प्राथमिकता दिएर उम्मेदवार छानेपछि दवावमा परेको नेपाली कांग्रेस बाजुराले पनि उच्च तह अध्ययन गरेकालाई नै ग्राहयता दिने भएको छ ।
सभापति कविराज पण्डितले नेपाली कांग्रेसले उच्च तह पढेकालाई प्राथमिकताका साथ उम्मेदवार बनाउने बताए । इअनुमोदनसंगको कुराकानीमा सभापति पण्डितले आजको जमानामा पढेलेखेकै उम्मेदवार चाहिने बताए ।
एमालेले सरकारी सेवामा रहेका, वकिल, इञ्जिनियर र स्वास्थ्यकर्मीलाई समेत उम्मेदवार बनाएपछि कांग्रेसले पनि त्यस्तै खालका उम्मेदवारलाई बढी प्राथमिकता दिने सम्भावना छ । तर, पनि एमालेमा जस्तो प्राविधिक क्षेत्रमा रहेकाहरू उम्मेदवार पाउन कांग्रेसलाई धौ–धौ छ । कांग्रेसले मुख्यरूपमा शिक्षा सेवामा क्रियाशिल भएर नाम कमाएका कांग्रेस निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेकालाई उम्मेदवार बनाउने पक्कापक्की छ ।
वाजुराकै चर्चित शिक्षासेवी भानोदय उच्चमाविका पूर्व प्राचार्य रंगवहादुर खाती, वडीमालिका क्याम्पसका क्याम्पस प्रमुख विरवहादुर कटुवालमध्येबाट वुढीगंगा नगरपालिकाको मेयर उठाउने पक्का जस्तै छ । केही गरेर खाती र कटुवाल भएनन् भने विज्ञान संकायमा स्नात्तोकोत्तर गरेका दीपक शाह, स्नात्तोकोत्तर पढ्दै गरेका पदम नेपाली, र अंग्रेजीमा स्नातक गरेका राजेन्द्र शाह विपी मध्ये कुनै एकलाई उम्मेदवार वनाउने सम्भावना पनि छ । वुढीगंगाबाट सवैभन्दा वढी १७ जनाको मेयर पदमा दावेदारी छ । उपमेयरमा पनि तारा खाती, टाल्मू लामा, सरस्वती रेग्मी, पूजा खातीको दावेदारी छ ।
यस्तै स्वामीकात्तिकबाट शिक्षा क्षेत्रमै रहेका अरुण शाही, स्नात्तोकोत्तर पढेका भरत रोकायामध्ये एकको सम्भावना छ । भने बडीमालिका नगरपालिकामा धनराज पण्डित र बुढीनन्दा नगरपालिकामा पदम गिरी, त्रिवेणी नगरपालिकामा रामसिंह रावल, रनसिंह ऐडी, छेडेदहमा मीनबहादुर धामी, जस्ता पढेलेखेकाहरूको नाम पनि उम्मेदवारका रूपमा चर्चामा छ ।
काग्रेसले अघि सारेकाहरू पढेलेखेका भए पनि केही वाहेक धेरैजना पाका उमेरका छन । तर एमालेले भने धेरै तहमा युवाहरूलाई नै अघि सारेको छ ।
हाम्रो जिल्ला समितिको बैठक वस्न बाँकी छ त्यसपछि को लड्ने भन्ने टुंगो लाग्छ सभापति पण्डितले भने केही गरेर टुंगो लागेन भने केन्द्रमा पठाइने छ । नौ वटा स्थानीय तहमध्ये कांग्रेसबाट हिमालीबाट गोविन्द मल्ल र गौमुल गाउँपालिकाबाट देववहादुर रोकायाको नाम मात्र प्रमुखका रूपमा सर्वसम्मत रूपमा आएको छ ।

दावी आफ्नाआफ्नै
एमालेले वैशाखको पहिलो साता नै बाजुराका उम्मेदवारहरू तय गरिसकेको छ । तर कांग्रेसले अहिलेसम्म तय गर्न सकेका छैनन् । जनताका वीचमा उम्मेदवारहरू पुगेकोले पनि एमालेले जित्ने दावी गर्न थालेको छ ।
एमालेले समयमै उम्मेदवार छनौट गरेर धेरै असन्तुष्टि समाधान गरिसक्ने मौका पाएको छ । तर, काग्रेसका उम्मेदवार टुंगो लाग्नु र उम्मेदवार छानिनु संगैसंगै हुने भएकोले असुन्तुष्टि समाधान गर्न कठिनाई हुने सम्भावना छ । कांग्रेस सभापति पण्डित चाडै जिल्ला समितिको बैठक बसेर उम्मेदवार तय गर्ने बताउँछन् ।
स्रोतका अनुसार एमालेले बडीमालिका नगरपालिका गौमुल, स्वामीकात्तिक, पाण्डवुफा पक्का जित्ने आन्तरिक विश्वास लिएर बुढीनन्दा नगरपालिका, बुढीगंगा नगरपालिका, छेडेदह र हिमाली निक्कै मेहनत गरेर जित्ने सम्भावनामा राखेको छ ।
यस्तै कांग्रेसले त्रिवेणी नगरपालिका पक्का जित्ने सम्भावना छ । यद्यपि कांग्रेस नेताहरूले आन्तरिक छलफलमा बुढीगंगा, बुढीनन्दा नगरपालिका, छेडेदह र हिमाली गाउपालिका ढुक्कले जित्छांै भन्न थालेका छन् । भने मेहनत गरे वडीमालिका जित्ने आश पनि गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार