४ जेष्ठ २०८१, शुक्रबार

दुर्गम बाजुरामा पढेलेखेकाहरू भिड्दै



मार्तडी (बाजुरा) । पढेलेखेका राजनीतिमा आउँदैन त्यसैमा राम्रो जागिर पाएकाहरू त राजनीतिमा आउने कुरा सोच्दा पनि सोच्दैन भन्ने परम्परागत मान्यता मुलुककै दुर्गम जिल्ला बाजुरामा तोडिएको छ ।
सात नम्बर प्रदेशमा जेठ ३१ गते स्थानीय तहको चुनाव तोकिए पनि बाजुरामा एमालेले सरकारी जागिरमा समेत भएका उच्च तहको अध्ययन गरेका किशोरी र युवाहरूलाई उम्मेदवारकारूपमा अघि सारेको छ ।
नौ वटा स्थानीय तह रहेको बाजुरामा इन्जिनियर, शिक्षिका, वकिल र गैरसरकारी क्षेत्रमा पहिचान बनाएकालाई एमालेले उम्मेदवार वनाएको हो । बडीमालिका र बुढीनन्दा नगरपालिकामा त २४ वर्षमुनीका युवतीहरू उम्मेदवार भएका छन् ।
बुढीनन्दा नगरपालिकामा इन्जिनियर पढेकी सृष्टि रेग्मी उपप्रमुख पदमा उम्मेदवार भएर प्रचारप्रसारमा हिडिसकेकी छन् । पहिले गैरसरकारी संस्थाको काम गरेर अनुभव बटुलेकी २४ वर्षिया रेग्मी तीन वर्षदेखि जिल्ला प्राविधिक कार्यालयमा कार्यरत छिन् । उनले पोखरा विश्वविद्यालयबाट इन्जिनियरिङ पढेकी हुन् ।
रेग्मी राजनीतिक परिवारमा हुर्केकी हुन उनका बुबा ताराचन्द्र रेग्मी तत्कालीन कोल्टी गाविसका अध्यक्ष थिए । तर, द्वन्द्वकालमा ०६० सालमा उनका बुबालाई माओवादीले अपहरण गरेर मारे । शान्तिकाल शुरु भएपछि उनको खप्पर उत्खनन् गरेर ल्याइएको थियो जो अहिले पनि एमाले पार्टी कार्यालयमा राखिएको छ ।
उपमेयरकी उम्मेदवार रेग्मी ‘बुबाका सपना पुरा गर्न, प्राविधिक क्षेत्रको विकास र कृषि क्षेत्रलाई अझ प्रभावकारी बनाउने लक्ष्य आफूले लिएको बताउाछिन् ।’ उनका काका बलदेव रेग्मी पनि राजनीतिमै छन् अहिले उनी एमाले बाजुराका सचिव हुन ।
बडीमालिकाकी उपमेयरकी उम्मेदवार गीता रावल २२ वर्षकी मात्र भइन् । एमालेले उठाएका प्रमुख, उपप्रमुख तथा वडाका अध्यक्ष र सदस्यमा उनी सवैभन्दा कान्छी उम्मेदवार भएको अनुमान गरिएको छ । स्नातक गरेर मालिका उच्चमाविमा अध्यापन गराई रहेकी रावल आफू निर्वाचित भएमा जनताको जीवनस्तर उठाउने काम गर्ने बताउँछिन् । बाजुरा मानव विकास सूचांकमा नेपालमा कहिले ७४ र कहिले ७५ स्थानमा रहँदै आएको छ । काँडामा स्वास्थ्य संस्थामा कार्यरत पवित्रा शाही पनि स्थायी जागिर छोडर छेडेदहको गाउँपालिकाको उपप्रमुख लडेकी छन् ।
एमालेले पढेलेखेका राम्रा काम गरिरहेका र युवाहरूलाई प्राथमिकता राखेर उम्मेदवार बनाएपछि मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसलाई पनि त्यस्तै उम्मेदवार छान्ने दवाव परेको छ । पार्टीलाई दवाव दिन कांग्रेसका युवा नेता राजेन्द्र शाह विपीले सामाजिक सञ्जाल फसवुकमै लेखेका छन ‘हामीलाई चुनौती छ : बाजुरमा वकिलदेखि अधिकारकर्मी, इन्जिनियरदेखि एनजिओवाला युवा नेताहरूलाई अधिकांश स्थानीय तहमा मेयर उपमेयरको उम्मेदवार वनाएको छ, अब कांग्रेसलाई रुग्ण, जिर्ण र वासी अनुहार लिएर चुनावी मैदानमा ओर्लिने छुट छैन । बाँकी जानिफकार टिकट दिने नेता स्वयम् । जय नेपाल ।’
बाजुरामा कांग्रेसले अहिलेसम्म उम्मेदवार छनौट गरको छैन । विगतमा एमाले र कांग्रेसले नै बाजुरामा कडा प्रतिस्पर्धा गर्दे आएका छन । पाँचवटा संसदीय चुनावमा कांग्रेसले तीन पटक र एमालेले दुई पटक जितेको छ । भने दुईवटा स्थानीय चुनावमा ०४९ मा कांग्रेस र ०५४ मा एमालेले जितेको थियो ।
हुन पनि एमालेले बाजुरामा बडीमालिकाको मेयरमा कानून पढेका अहिलेका जिल्ला कमिटीका उपसचिव युवा गगन रावललाई प्रमुख बनाएको छ । बुढीनन्दाका मेयरका उम्मेदवार जनक बोहरा पनि कानून पढेका छन । छेडेदह गाउँपालिकाका प्रमुख लालबहादुर ओली गैरसरकारी क्षेत्रमा लामो अनुभव भएका उम्मेदवार हुन । बुढीगंगाका मेयरका उम्मेदवार रामबहादुर बानियाँ, गौमुल गाउँपालिकाका प्रमुखका उम्मेदवार हरि रोकाया पढेलेखेका युवा हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार