१० श्रावण २०८१, बिहीबार

कैलारीवासीले भने– ‘सीमानाका व्यवस्थित गर’



धनगढी । कैलालीको कैलारी गाउँपालिकाका वासिन्दाले नेपाल–भारत सीमानाका व्यवस्थित गर्न माग गरेका छन् । खुला सीमानाकाका कारण विभिन्न किसिमक अपराधिक गतिविधिमा बृद्धि आइरहेकोले व्यवस्थापन गर्न माग गरे । उनीहरूले खुला सीमानाका भएकाले लागूऔषध ओसारपसार, काठ तस्करी, महिला तथा बालबालिका बेचविखन लगायतका अपराधिक घटनामा बृद्धि भइरहेको गुनासो गरे ।
शनिबार जिल्ला प्रहरी कार्यालय, कैलालीले साविक हसुलिया गाउँ विकास समितिमा रहेको ईलाका प्रहरी कार्यालयमा आयोजना गरेको ‘शान्ति सुरक्षा सम्बन्धी’ सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाको हेल्पडेस्क समेत राख्न माग गरे ।
सार्वजनिक सुनुवाईमा स्थानीय भीम बोहराले भने– ‘खुला सीमानाका छ, मानव तस्करीका घटनामा बृद्धि आएको छ । त्यसैले यस क्षेत्रमा महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने संस्थाको एउटा हेल्प डेस्क राख्न जरुरी भइसकेको छ ।’
सहभागी उर्मिला चौधरीले भनिन्– ‘कैलारी गाउँपालिकामा घरेलु हिंसाका घटनामा पनि बढोत्तरी आएको छ । प्रहरी चौकीमा महिला प्रहरी नभएकाले अधिकांस पीडित महिलाले उजुरी गर्न गाह्रो मान्ने गरेका छन् ।’
नेपालु चौधरीको भनाई थियो– ‘यस नाकाबाट भारतीयहरू अवैध रूपमा मोटरसाईकलमा सामान बोकेर व्यापार गर्न आउँछन, तर नेपालीलाई भने भारतमा सामान लिनजाँदा सवारी साधन लग्न दिइदैन ।’
उनले यो सीमानाकालाई समान रूपले खुल्ला गर्नुपर्ने, नभए पूर्ण रूपमा बन्द गर्न माग गरे । चौधरीले प्रहरी चौकीमा चारपाङ्ग्रे सवारी साधन नहुँदा प्रहरीलाई सबै स्थानमा पुग्न कठिनाई भइरहेको पनि बताए ।
कार्यक्रममा कैलाली प्रहरी प्रमुख एसपी अर्जुन चन्द ठकुरीले प्रहरीले सर्वसाधारणको सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने बताए । एसपी ठकुरीले प्रहरीको प्रमुख दायित्व नै सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिनु रहेको दोहोर्‍याए ।
उनले स्थानीय तहको निर्वाचनका लागि सुरक्षा समन्वय समितिले सुरक्षा योजना तयार गरिसकेको र चुनावलाई शान्त र भयरहित वातावरणमा सफल पार्न मातहातका प्रहरी कार्यालयलाई सक्रिय भएर लाग्न आग्रह गरे ।
सार्वजनिक सुनुवाईमा एसपी ठकुरीले जिल्ला प्रहरी कार्यालय कैलालीको चालू आर्थिक वर्षको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कैलालीमा चालू आर्थिक वर्षमा लागूऔषध ओसारपसारमा २८ वटा मुद्दा दर्ता भएको र ४१ जनालाई पक्राउ गरिएको छ ।
त्यस्तै, सो अवधिमा जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यानका छ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयले ट्राफिक नियम उलंघन गरेका १४ हजार एक सय ३६ सवारी साधनलाई कारबाही गरी ८१ लाख एक हजार रुपैयाँ जरिवाना संकलन गरेको छ ।
त्यस्तै, मादक पदार्थ सेवनबाट ६६ हजार पाँच सय, विभिन्न किसिमका सरसमानबाट नौ लाख २९ हजार ७३ र अदालत असुल जरिवाना २० लाख ९० हजार पाँच सय २० गरी एक करोड ७८ लाख २९ हजार ९३ रुपैयाँ जरिवाना असुल गरेको एसपी ठकुरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार