२३ बैशाख २०८१, आईतवार

सूर्तीजन्य पदार्थ बिक्रीबारेको नियम पालना भएन



धनगढी । सरकारले सूर्तीजन्य पदार्थ बिक्री नियमन गर्ने उद्देश्यले अनुमतिप्राप्त पसलबाट मात्रै बिक्री गर्न पाउने नियम लागू गरे पनि पालना हुनसकेको छैन ।
सरकारले गत चैत्र १ गते सूर्तीजन्य पदार्थको बिक्रीका लागि निश्चित व्यापारी, पसलेले नयाँ अनुमति लिनुपर्ने नियम लागू गरे पनि कैलालीमा त्यसको खासै पालना भएको पाइएको छैन ।
सो नियम लागू हुनुअघि झैं अहिले पनि धनगढी लगायत जिल्लाका प्राय: बजारमा खाद्यान्नको व्यापार गर्ने पसलदेखि, चियापससम्मले निर्धक्कसंग चुरोटबिंडीं, खैनीसूर्ती, पानमसला, गुट्खा सहितका सूर्तीजन्य पदार्थ बिक्री गरिरहेको पाइएको छ ।
शुक्रबार कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको नेतृत्वमा धनगढीमा गरिएको बजार अनुगमनका क्रममा अनुमति नलिएका पसलबाट खुलेआम सूर्तीजन्य पदार्थ बिक्री भइरहेको पाइएको थियो ।
‘विगतको तुलनामा सूर्तीजन्य पदार्थको बिक्रीमा केही सुधार आएको छ, तर अझै निर्देशिकाको पूर्ण पालना भएको पाइएको छैन’ सहायक प्रजिअ जोशीले भने– ‘यो नियम लागु भएपछि नियमित अनुगमन पनि भएको थिएन ।’ उनले सूर्तीजन्य पदार्थ बिक्रीबारे लागू गरिएको नियमको पालना नभएको जनगुनासो बढेपछि नियन्त्रणका लागि अनुगमन शुरु गरिएको बताए ।
गत चैत्र १ गतेको नियम लागू भएपछि के कतिले नयाँ अनुमति लिए भन्ने तथ्यांक प्रशासनसंग उपलब्ध नभएको उनले बताए ।
सूर्तीजन्य पदार्थ बिक्रीका लागि लागू भएको नियमले दैनिक उपयोग्य वस्तु बिक्री गर्ने पसलमा सूर्तीजन्य पदार्थ कारोबार गर्न रोक लगाएको छ । अनुगमनका क्रममा सहायक प्रजिअ जोशीले भने– ‘अनुमति नलिएर खुल्लारूपमा वा अन्य पसलबाट सूर्तीजन्य पदार्थ बिक्री गर्ने व्यापारी तथा पसललाई कानुनी कारबाही हुनेछ ।’ सहायक प्रजिअ जोशीले पहिलो पटक बजार अनुगमन गरिएकोले नियम पालना नगरेका व्यापारीलाई सम्झाईबुझाई गरिएको र अर्को पटकको अनुगमनका क्रममा पनि सुधार भएको नपाइएमा कानुनी कारबाही गरिने बताए ।
सहायक प्रजिअ जोशीको नेतृत्वमा गएको टोलीले धनगढीको ट्राफिक चौराहदेखि क्याम्पसरोडसम्मका दशवटा पसलमा अनुगमन गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत खगेन्द्रबहादुर शाहीले बताए ।
इजाजत लिएका पसलले बिक्री कक्षको प्रवेशद्वारमा सजिलै देख्न र पढ्न सक्ने गरी १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई सूर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने, गर्भवती महिलालाई सूर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने भनी सूचना राख्नुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार