२ जेष्ठ २०८१, बुधबार

बझाङमा अनुमति नलिएर निजी विद्यालय खोल्ने होडबाजी



बझाङ । बझाङ जिल्लामा अनुमति नलिएर निजी विद्यालय सञ्चालन गर्ने क्रममा बृद्धि आएको छ । हाल जिल्लामा ४३ वटा निजी विद्यालय सम्बन्धित निकायको अनुमतिबिना नै सञ्चालनमा रहेको पाइएको । जिल्लामा अरु २१ वटा निजी विद्यालयले मात्र अनुमति लिएर सञ्चालन गरिरहेका छन् ।
निजी विद्यालय खोल्नका लागि नजिकैको अर्को विद्यालयबाट सहमति लिएर प्रत्येक वर्ष पुस मसान्तभित्र जिल्ला शिक्षा कार्यालयमा अनुमतिका लागि निवेदन दिनुपर्ने शिक्षा ऐन तथा नियमावलीले व्यवस्था गरेको छ । तर, अधिकांस विद्यालयले शिक्षा ऐन, नियमावलीलाई लत्याउने गरेको पाइएको छ ।
सुदूरपश्चिम विद्या सदनका प्रिन्सिपल कुम्भराज खत्रीले शिक्षा कार्यालयका कर्मचारीको समेत कमजोरीका कारण अनुमति बिना नै विद्यालय खोल्ने तथा सञ्चालन गर्ने क्रममा बृद्धि आएको बताए ।
अनुमति नलिएरै विद्यालय सञ्चालन गरिरहेका सञ्चालकहरू अनुमति लिनुपर्नेबारे जानकारी नभएको बताउँछन् । नाम उल्लेख नगर्ने शर्तमा एउटा विद्यालयका प्रिन्सिपलले अनुमति नलिएर नै विद्यालय सञ्चालनका लागि शिक्षा कार्यालयका कर्मचारीलाई निश्चित रकम दिने गरेको बताए । उनले गाउँमा निजी विद्यालय सञ्चालन भइरहेको देखेपछि आफूले पनि स्कूल खोलेको बताए । उनको विद्यालयमा छ जना शिक्षक रहेका छन् । खरले छाएको सानो भवनमा उनले पाँच कक्षासम्म सञ्चालन गरेका छन् ।
जिल्ला शिक्षा कार्यालयबाट अनुगमन समेत नहुने भएकाले अनुमतिबिना नै निजी विद्यालयहरू सञ्चालन भइरहेको स्थानीयको गुनासो छ ।
जिल्ला शिक्षा अधिकारी सूर्यबहादुर सिंहले शिक्षा ऐन तथा नियमावली अनुसार विद्यालय सञ्चालन गर्न अनुमति लिनका लागि सार्वजनिक सूचना टास्ने गरिएको र धेरै निजी विद्यालयबाट निवेदन आएको बताए । उनले अनुमति नलिएर विद्यालय वा कक्षा सञ्चालन गरिउको भेटिएमा कानुन अनुसार कारबाही हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार