३ जेष्ठ २०८१, बिहीबार

एमालेले लगायो डडेल्धुरामा उम्मेदवारको टुंगो



डडेल्धुरा ।  जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले) डडेल्धुराले उम्मेदवारहरूको टुङ्गो लगाएको छ । ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा एमालेले सबै उम्मेदवारहरूको टुंगो लगाएको नेकपा (एमाले) डडेल्धुराका जिल्ला कमिटी सचिव धनबहादुर साउँदले जानकारी दिए ।
उनले वडा कमिटीका उम्मेदवारहरूको टुंगो जिल्ला कमिटीले तथा नगरपालिका र गाउँपालिकाका उम्मेदवारको टुंगो प्रदेश कमिटीले लगाएको जानकारी दिए । एमालेले अमरगढी नगरपालिकाको प्रमुखमा विपीन ओझालाई उम्मेदवार बनाएको छ । उनी एमाले नगर कमिटी अध्यक्ष हुन् ।
यस नगरपालिकाको उपप्रमुखमा एमालेले संगीता भण्डारीलाई उम्मेदवार बनाएको छ । भण्डारी राजनीतिसँगै पत्रकारितामा समेत सक्रिय छन् । यसैगरी परशुराम नगरपालिकाको प्रमुखमा चक्रप्रसाद स्नेही र उपप्रमुखमा कलावती भट्टराईलाई उम्मेदवार बनाएको छ ।
यस्तै, अजयमेरु गाउँपालिकाको अध्यक्षमा जिल्ला सचिव धनबहादुर साउँद, उपाध्यक्षमामा शारदा विक, नवदुर्गा गाउँपालिकाको अध्यक्षमा कविन्द्र विष्ट, उपाध्यक्षमा जयन्ती बुढाऐर, गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा वीरेन्द्र मल्ल, उपाध्यक्षमा कृष्णा ओझा, भागेश्वर गाउँपालिकाको अध्यक्षमा विष्णु ठकुराठी, उपाध्यक्षमा कमला माली र आलिताल गाउँपालिकाको अध्यक्षमा तुलाराम बोहरा, उपाध्यक्षमा हरिना बोगटीलाई उम्मेदवार बनाएको नेकपा (एमाले) प्रदेश कमिटीले जनाएको छ ।
एमाले डडेल्धुराले अन्य वडा अध्यक्ष, उपाध्यक्ष र सदस्यहरूको पनि टुंगो लगाइसकेको जानकारी दिएको छ । दुई नगरपालिका र ५ गाउँपालिकामा महिला उम्मेदवारहरू भने उपप्रमुख तथा उपाध्यक्षमै सीमित छन् । जिल्लामा नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपालगायतका राजनीतिक दलहरूले पनि उम्मेदवारको टुंगो लगाउने प्रक्रिया अन्तिम अवस्थामा पुगेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार