१० श्रावण २०८१, बिहीबार

अत्तरिया कप महिला क्रिकेट: तयारी अन्तिम चरणमा



धनगढी । कैलालीको अत्तरियामा आयोजना हुने अत्तरिया कप टि–२० महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । युनाइटेड अत्तरिया स्पोर्टस् क्लवको आयोजना हुने सो प्रतियोगिता देशकै सर्वाधिक पुरस्कार राशिको महिला क्रिकेट रहेको जनाइएको छ । प्रतियागिता आगामी २१ गतेदेखि शुरु हुँदैछ ।
प्रतियोगितामा देशका विभिन्न स्थानका छ टोली सहभागी हुने सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा आयोजक युनाइटेड क्लवका अध्यक्ष रवि खनालले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए । प्रतियोगिता सञ्चालनमा करिब २५ लाख रुपैयाँ खर्च हुने उनले बताए ।
प्रतियोगिताको उपाधी विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, प्लेयर अफ द सिरिजलाई २५ हजार, वेस्ट ब्याटिङ पर्फर्मेन्स, वेस्ट वलिङ पर्फर्मेन्स र विकेट किपरले दश/दश हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । भने हरेक खेलको म्यान अफ द म्याचलाई तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
अत्तरियाको एपिएफ क्रिकेट मैदानमा हुने प्रतियोगिताको मुख्य प्रायोजक रुस्लान रहेको छ ।
सोमबार प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरियो । खेल तालिकाअनुसार समुह ‘ए’ मा सशस्त्र प्रहरी बलको एपिएफ क्लव, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर महिला क्रिकेट टोली रहेको छ ।
त्यस्तै, समुह ‘बी’ मा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राईजिङ क्रिकेट वुमन काठमाडौ र वारा क्रिकेट एकेडेमी रहेका छन् । वैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेल एपिएफ र मिलन क्रिकेट एकेडेमी झापाबीच हुुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार