१० श्रावण २०८१, बिहीबार

स्थानान्तरणपछि दुई विद्यालयबीच विवाद चर्कियो



धनगढी । एउटा वडामा सञ्चालनमा रहेको एउटा संस्थागत विद्यालय अर्को वडामा स्थानान्तरणपछि दुई विद्यालयबीच विवाद चर्किएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १, शिवनगरमा रहेको स्टोनब्रिज इंग्लिस बोर्डिङ स्कूल स्थानान्तरण भएर वडा नम्बर ५ मा सरेपछि त्यहाँ पहिलेदेखि नै रहेको पब्लिक विद्या निकेतनसंग विवाद चर्किएको छ ।
पब्लिक विद्या निकेतन रहेको स्थान नजिकै स्टोनब्रिज पनि सरेर आएपछि विवाद सिर्जना भएको थियो । पब्लिक विद्या निकेतनका प्रिन्सिपल उपेन्द्र बमले स्टोनब्रिज विद्यालय सञ्चालन निर्देशिका–२०६९ र शिक्षा ऐन विपरित काम गरेको आरोप लगाए ।
विद्यालय सञ्चालन निर्देशिका, २०६९ मा कुनै पनि विद्यालय कुनै पनि उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकाको एक वडाबाट अर्को स्थानमा स्थानान्तरण गर्नुपरेमा स्थानीय निकायको सिफारिस र जिल्ला शिक्षा कार्यालयको अनुमति आवश्यक हुने व्यवस्था छ । स्थानान्तरण अनुमतिपत्र नलिएर सञ्चालन गरेमा अवैध मानिने र विद्यार्थी भर्ना गर्न नपाइने व्यवस्था रहेको छ ।
पब्लिक विद्या निकेतनका प्रिन्सिपल बमले स्टोन ब्रिज अवैध तरिकाले सञ्चालन भएको आरोप लगाए । उनले भने– स्टोनब्रिजले स्थानान्तरणका लागि जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिएको छैन । स्टोनब्रिजले धनगढी उपमहानगरपालिकाबाट सिफारिस लिन जाँदा सो कार्यालयले नै निर्देशिका विपरित रहेको भनेर सिफारिस नगरेको प्रिन्सिपल बमले दाबी गरे । उनले हाललाई शिक्षा मन्त्रालयले नै विद्यालयको नयाँ स्थानान्तरणमा रोक लगाएको बताए ।
विद्यालय सञ्चालन निर्देशिका, २०६९ अनुसार एक वडामा पाँच वटाभन्दा बढि माध्यमिक विद्यालय खोल्न नपाइने र दुई विद्यालयबीचको दुरी कम्तिमा पाँच सय मिटर हुनुपर्ने व्यवस्था छ । स्टोन ब्रिज र पब्लिक विद्या निकेतनबीचको दुरी २० मिटरमात्र रहेको छ ।
‘हाम्रा शिक्षक, विद्यार्थी र अभिभावकसंग हाम्रौ विद्यालयबारे गलत प्रचार गरिदैछ’ प्रिन्सिपल बमले भने– हाम्रो विद्यालयविरुद्ध विभिन्न आरोप लगाएर हाम्रा विद्यार्थीलाई आफ्नो स्कूलमा भर्ना गराउने तथा हाम्रा शिक्षकलाई समेत लग्ने दुस्प्रयास भइरहेको छ ।
शनिबार धनगढीमा संस्थागत विद्यालय शिक्षक युनियन, निजी तथा आवसिय विद्यालय संगठन लगायतका संस्थाका प्रतिनिधिहरूसहितको सहभागितामा भएको एक कार्यक्रममा उनले स्टोनब्रिजलाई पुरानै स्थानमा फर्काउन माग गरे ।
उनले विद्यालय सञ्चालन निर्देशिकाले स्थानान्तरणका लागि नजिकको विद्यालयको सहमति आवश्यक पर्ने उल्लेख गरेको भए पनि स्टोन ब्रिजले धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित शारदा उच्च मावि र गिली एकेडेमीको सहमति पत्र बनाएको आरोप लगाए ।
कार्यक्रममा स्टोनब्रिज इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल उदयप्रताप सिंहले पूर्व सञ्चालित स्थानमा घरबहाल सम्झौता सकिएको र आफ्नै स्वामित्वमा रहेको जमिनमा विद्यालय सञ्चालन प्रक्रिया फागुनदेखि शुरु गरेको बताए । ‘यहाँ कुन संस्थागत विद्यालयले नियमावली, ऐन, निर्देशिका पालना गरेका छन् ?’ उनले प्रश्न गरे– ‘ऐन अनुसार यहाँका अधिकांस संस्थागत विद्यालयहरु नियम विपरित रहेका छन् ।’ उनले आफुले विद्यालय स्थानान्तरण गर्दा कुनै पनि विद्यालयलाई कुनै पनि असर नगरेको दाबी गरे ।
कार्यक्रममा ईष्टुका केन्द्रीय सदस्य धर्मदेव भट्टले स्टोनब्रिजले अहिले नियम विपरित काम गरिरहेकाले आफुहरूले गत मंगलबार ध्यानाकर्षण पत्र जारी गरेको बताए । सो पत्रमा विद्यालय अहिले अवैध तरिकाले सञ्चालन भएकाले कुनै पनि विद्यार्थीलाई भर्ना नगर्न र कक्षा सञ्चालन नगर्न भनेर तीन दिने चेतावनी दिइएको थियो । तर, विद्यालयले सो पत्रको पालना नगरेको उनले बताए ।
उनले विद्यालयले ईष्टुको ध्यानाकर्षण पत्रको पालना नगरेकाले आज (आईतबार) सो विद्यालयमा तालाबन्दी गर्ने निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार