७ जेष्ठ २०८१, सोमबार

सात नम्बर प्रदेशमा अझैं पाठ्यपुस्तक अभाव



धनगढी । नयाँ शैक्षिक सत्र सुरु भएको १५ दिन भइसकेको छ । कैलाली सहित देशभरि विद्यार्थी भर्ना अभियान चलिरहेको छ । तर, अझैं सबै विद्यार्थीले पुस्तक पाउन सकेका छैनन् । प्रदेश नम्बर ७ मा अझै पाठ्यपुस्तक अभाव कायमै छ ।
जनक शिक्षा सामग्री केन्द्र, सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका अनुसार अझैं २५ प्रतिशत पुस्तक अभाव रहेको छ । जनक शिक्षा सामग्रीका अनुसार प्रदेश नम्बर ७ मा २२ लाख थान पाठ्यपुस्तक आवश्यक पर्नेमा हालसम्म १६ लाख २५ हजार थान पाठयपुस्तक मात्रै वितरण भएको छ । अझैं करिब छ लाख थान पाठ्यपुस्तकको अभाव रहेको छ ।
गत चैत २२ गतेदेखि पाठ्यपुस्तक बिक्रीवितरण सुरु गरेको जनक शिक्षा सामग्रीले वैशाख अन्तिम सातासम्म मात्रै आवश्यक पर्ने सबै २२ लाख थान पाठ्यपुस्तक वितरण गरिसक्ने जनाएको छ ।
जनक शिक्षा सामग्री केन्द्र, सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय धनगढीका प्रमुख योगेन्द्र भट्टले हालसम्म १६ लाख २५ हजार पाठ्यपुस्तक वितरण भइसकेको बताए । उनले बाँकी साढे ६ लाख पुस्तकमध्ये एकदुई दिनभित्रै ७५ हजार पाठ्यपुस्तक आइपुग्ने बताए ।
उनले बाजुरामा ८५ प्रतिशत पाठ्यपुस्तक वितरण भइसकेको र यस प्रदेशका अन्य जिल्लामा ७५ प्रतिशत पाठ्यपुस्तक वितरण भइसकेको बताए ।
प्रदेश नम्बर ७ मा कक्षा ६ को अङ्ग्रेजी, नैतिक शिक्षा, कक्षा ७ को गणित, विज्ञान, नैतिक शिक्षा र कक्षा ८ को विज्ञान र नैतिक शिक्षा पुस्तक अभाव भइरहेको बताए । उनले यी पाठ्यपुस्तक कम छापिएकोले यस क्षेत्रमा अभाव देखिएको बताए ।
उनले वैशाख अन्तिम सातासम्ममा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याइसक्ने बताए ।
सरकारले बर्सेनि एक अर्ब रुपैयाँभन्दा बढी रकम विद्यालयमा पाठ्यपुस्तक ढुवानीका लागि निकासा गर्दै आएको छ । प्रदेश नम्बर ७ मा कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक ढुवानीका लागि ११ करोडदेखि १३ करोड रुपैयाँ खर्च हुने गरेको छ ।
यो वर्ष २२ लाख थान पाठ्यपुस्तक पुर्‍याउन १३ करोड रुपैयाँ खर्च हुने केन्द्रका क्षेत्रीय प्रमुख भट्टले बताए । सरकारले हरेक वैशाख ५ गते राष्ट्रिय पाठ्यपुस्तक दिवस मनाउने गरेको छ । वैशाख ५ गतेभित्र हरेक विद्यार्थीका हातमा पाठ्पुस्तक पुर्‍याउने सरकारले लक्ष्य छ ।
पुस्तक बिक्रेताहरू मागअनुसार जनक शिक्षा सामग्री केन्द्रले पुस्तक उपलब्ध नगराउँदा समस्या भएको बताउँछन् । गत वर्षभन्दा केही सहज भए पनि विद्यार्थीहरूको मागअनुसार पुस्तक उपलब्ध गराउन नसकेको मायोज स्टेशनरीका सञ्चालक विजयराज पन्तले बताए ।
बझाङको नागार्जुन पुस्तक पसलबाट पुस्तक लिनको लागि धनगढी पुगे पनि पुस्तक नपाएको कृष्णसिंह भण्डारीले गुनासो गरे । ‘बझाङबाट पुस्तकको लागि धनगढी पुगियो’ उनले भने– ‘तर, पुस्तक नपाउँदा रित्तो हात फर्कनु परेको छ ।’
त्यस्तै, बैतडीे नार्गाजुन पुस्तक पसलका सञ्चालक कुष्ण भण्डारीले केही विषयगत पुस्तक बाहेक अन्य पुस्तक नपाएको बताए । उनले गत वर्षभन्दा बढी पुस्तक पाइए पनि विद्यार्थीको मागअनुसार पुस्तक नपाएको बताए ।

जनक शिक्षा सामग्रीमा तालाबन्दी जारी

फाइल तस्बिर

समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुर्‍याएको भन्दै विद्यार्थी सङ्गठनले बिहीबार जनक शिक्षा सामग्री केन्द्रको धनगढीस्थित क्षेत्रीय कार्यालयमा लगाएको तालाबन्दी शुक्रवार पनि कायमै रहेको छ ।
जनक शिक्षा सामग्रीको लापरवाहीका कारण यस वर्ष पनि समयमै विद्यार्थीको हातमा पुस्तक नपुगेको भन्दै विद्यार्थी सङ्गठनहरूले केन्द्रको कार्यालयमा तालाबन्दी गरेका थिए । विद्यालयमा पढाई सुरु भइसक्दा पनि अझै सबै विद्यार्थीले पुस्तक नपाएकोले तालाबन्दी गर्नु परेको विद्यार्थी सङ्गठनहरूले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार