१० श्रावण २०८१, बिहीबार

आसन्न स्थानीय निर्वाचन : राजीनामा दिँदै, चुनाव लड्दै कर्मचारी, शिक्षक



बझाङ । आसन्न स्थानीय तहको निर्वाचनमा बझाङमा सरकारी विद्यालयका केही स्थायी शिक्षक तथा निजामती कर्मचारीहरू समेत उम्मेदवार बनेका छन् । हालसम्म जिल्लामा सरकारी विद्यालयका चार जना स्थायी शिक्षक, एक निजामती कर्मचारी र दुई अन्य कर्मचारीले राजीनामा दिएर चुनावमा उम्मेदवार बनेका छन् । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न राजीनामा गरेका शिक्षक तथा सरकारी कर्मचारीमध्ये अधिकांशलाई एमालेले टिकट दिएको पाइएको छ ।
निर्वाचनमा उम्मेदवार बन्न शिक्षण पेसाबाट राजीनामा दिनेमा पान्डु उमावि पडेसका शिक्षक वीरेन्द्रबहादुर खड्का, नमादेउ प्राविका शिक्षक उत्तम बोहरा, महादेव उमावि अठपालीका प्रध्यानाध्यापक कर्णबहादुर कुँवर र जनता निमाविका शिक्षिका राधिका रताला रहेका छन्
त्यस्तै, सुर्मादेवी विद्युत् प्रालिका लेखापाल जुना जाग्री र जिल्ला कृषि विकास कार्यालयका जेटिए ललित थापा तथा एलजिसिडिपीका कोअर्डिनेटर लक्ष्मीराज जोशी रहेका छन् ।
सुर्मादेवी विद्युत् प्रालिका लेखापाल जुनालाई एमालेले जयपृथ्वी नगरपालिकाको उपमेयर पदको उम्मेदवार बनाएको छ । त्यस्तै, पाण्डु उमाविका शिक्षक वीरेन्द्रलाई सोही नगरपालिकाको मेयरको टिकट दिइएको छ ।
एलजिसिडिपीका कोअर्डिनेटर लक्ष्मीराजलाई वडाध्यक्षको उम्मेदवार बनाइएको छ । महादेव उच्चमाविका शिक्षक कर्णबहादुरले बैतडीको पुर्चाैडी नगरपालिकामा एमालेबाट मेयरको टिकट पाएका छन् । उत्तम बोहराले जयपृथ्वी नगरपालिकाको वडा नम्बर ८ को वडाध्यक्षमा, राधिकाले पाथिभेरा गाउँपालिकाको उपाध्यक्षको उम्मेदवारी पाएका छन् । यी सबै एमालेबाट उम्मेदवार बनाइएका छन् ।
जेटिए ललित थापालाई भने नेपाली काँग्रेसले जयपृथ्वी नगरपालिकाको वडा नम्बर ११ को वडाध्यक्ष पदमा उम्मेदवारी दिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार