२३ बैशाख २०८१, आईतवार

देउवा र प्रचण्ड विदेशीको मतियारः रावल



धनगढी
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकार र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा देशघातिको मतियार बनेको आरोप लगाएका छन । नेपाल वुद्धिजीवी परिषद ७ नं. प्रदेश स्तरीय वुद्धिजीवी भेलालाई सम्वोधन गर्दै नेता रावलले प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवा भारतको निर्देशनमा चलिरहेका कारण मुलक समस्यामा परेको बताए ।
उनले प्रचण्ड नेतृत्वको सरकार भारत सरकारको डिजाईन अनुसार बनेको भन्दै नेता रावलले भारतको ईशारामा फेरी अर्को संशोधन प्रस्ताव ल्याउन लागेको आरोप लगाए । सरकारले संविधान संशोधनको प्रस्ताव भारतलाई खुसी पार्न र नेपाललाई कमजोर पार्नको लागि ल्याउन लागेको बताए ।
राष्ट्रघाती संविधान संसोधन प्रस्तावलाई कुनै पनि हालतमा पारित हुन नदिने बताउँदै बिधेयक राष्ट्रघाती भएकोले कुनै पनि देशभक्त नेपालीले यसलाई पारित गर्न नदिने जिकिर गरे । सिमांकनलाई थाती राखेर भाषा, नागरिककता विषयमा ल्याउन लागिएको संविधान संशोधनले नेपाललाई कमजोर पार्ने बताए । विदेशी नागरिकलाई नागरिकता दिएर नेपाललाई कमजोर पार्ने षडयन्त्र भईरहेको भन्दै जनतालाई सचेत रहन समेत आग्रह गरे ।
स्थानीय तहको निर्वाचनमा राष्ट्रियताको मुद्धाका साथै स्थानीय विकास निर्माणका कुरालाई एमालेले जोडदार रुपमा उठाएर देशलाई आर्थिक सम्बृद्धितर्फ उन्मुख गराउने बताए ।
यस्तै नेकपा एमाले वैकल्पिक पोलिट व्यूरो सदस्य कर्ण थापाले एमालेलाई सबैभन्दा भन्दा ठुल्लो पार्टी बनाउन सबै महत्वपुर्ण भुमिका वुद्धिजिवी समाजको रहेको बताए । उनले आगामी बैशाख ३१ गते हुने स्थानिय तहको निवार्चनमा वुद्धिजीवीहरुको भुमिका महत्वपूर्ण रहने बताए । भेलालाई केन्द्रीय सदस्य महेश्वर पाठक, रामकुमार ज्ञवाली, प्रदेश सदस्य दिनेशचन्द्र सुवेदी, कञ्चनपुर अध्यक्ष तारा तामाङ्ग, वुद्धिजीवी परिषदका वरिष्ठ उपाध्यक्ष लक्ष्मण कुँवर लगायतले बोलेका थिए ।
नेपाल वुद्धिजिवी परिषद्की केन्द्रिय उपाध्यक्ष कलावती जोशीको सभापतित्वमा भएको भेलामा प्रदेश नम्बर ७ का वुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।
यसैगरी नेपाल बुद्धिजीवि परिषदद्धारा प्रकाशित सात नं. प्रदेशको समग्र विकास, अवस्था, संभावना र चुनौतीहरु विषय पुस्तकको विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार