झन्डै साढे ४ लाख लुटियो



धनगढी। कैलालीमा एक सहकारीबाट झन्डै साढे चार लाख रुपैयाँ लुटिएको छ । टीकापुरको सत्तीबजारमा रहेको सत्ती कर्णाली सामुदायिक सहकारी संस्थाको रुपैयाँ लुटिएको हो ।
मङ्गलवार दिउँसो साढे दुई बजेतिर नम्बर खुल्न नसकेका दुईवटा मोटरसाइकलमा आएको चार जनाको समूहले सो सहकारीको चार लाख ४६ हजार रुपैयाँ लुटेर फरार भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकले बताए ।
‘लुटेराहरूले मुखमा मास्क लगाएका र हेर्दा भर्खरका युवाजस्ता देखिन्थे’, सहकारीका कर्मचारीको भनाइलाई उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक पाठकले भने, ‘उनीहरूले सहकारीभित्र प्रवेश गरी पिस्तोल देखाएर सेफ खोल्न लगाइ रकम लगेका छन् ।’
लुटिएको रकम बारे आवश्यक अनुसन्धान भइरहेको र लुटेरा भाग्न सक्ने सम्भावित ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बजारबाट सङ्कलन गरेर सहकारीमा जम्मा गर्न ल्याएको पैसा लुटेर लिएको सहकारीका कर्मचारीहरूले बताएका छन् ।
सो सहकारीमा सुरक्षा गार्डको पनि व्यवस्था छैन । अनुसन्धानका लागि सहकारीका एक जना लेखापाल र एक जना क्यासियरलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्