१० श्रावण २०८१, बिहीबार

ढुक्क भएर औषधी खानुस्– क्षेत्रीय स्वास्थ्य निर्देशक



धनगढी  ।  सुदूरपश्चिमका क्षेत्रीय स्वास्थ्य निर्देशक डाक्टर सुशील प्याकुरेलले हात्तीपाइले रोग विरुद्धको औषधी दुक्क भएर खान सर्वसाधारणलाई आग्रह गरेका छन् ।
हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियानको दोस्रो दिन क्षेत्रीय स्वास्थ्य निर्देशक डा. प्याकुरेलले आफूले औषधी सेवन गर्दै भने– ‘यो औषधीका फाइदाबारे मानिसलाई पर्याप्त जानकारी गराउन नसकेका कारण अनेकथरी गलत भ्रम भइरहेका छन् ।’ उनले औषधीबारे कुनै पनि किसिमको आशंका नगर्न पनि सर्वसाधारणमा आग्रह गरे ।
‘हात्तीपाइले औषधी सेवनका कारण मृत्यु’ भन्ने गलत खबर पनि बाहिर आए’ उनले भने– ‘यो औषधी खाएकै कारण कसैको मृत्यु हुन्छ भन्ने सतप्रतिशत गलत हल्ला मात्रै हो ।
क्षेत्रीय स्वास्थ्य निर्देशक प्याकुरेलका अनुसार हात्तीपाइले रोग विरुद्ध डाइथाइलकार्बामाजिन (डिइसी) चक्की र अल्बेन्डाजोल (जुकाको) चक्की गरी दुई प्रकारका औषधि खुवाइन्छ । यी औषधि विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसारका गुणस्तरीय र सुरक्षित छन् । ‘यो औषधीले हात्तीपाइले रोगको परजीवी नष्ट गर्नुका साथै पेट र आन्द्रामा हुने विभिन्न थरीका अंकुशे, गोलो जुका, चुर्ना आदिलाई समेत नष्ट गर्छ’ उनले यो औषधि नखाँदा हात्तीपाइले रोग लाग्ने खतरा हुने तथा औषधी नखाएकै कारण भविष्यमा अशक्त अथवा अपांग समेत हुनसक्ने खतरा रहने बताए ।
शनिवारदेखि सुरु भएको हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम प्रभावकारी बनाउन आइतबार आयोजना गरेको पत्रकारसंग औषधी सेवन कार्यक्रम उनले प्रदेश नम्बर ७ मा २३ लाख २९ हजार दुई सय २० जनालाई औषधी खुवाउने लक्ष्य रहेको जानकारी दिए । त्यसका लागि प्रदेशमा ११ हजार सात सय ५० बुथ (औषधी खुवाउने केन्द्र) रहेका छन् भने १३ हजार एक सय ४४ स्वयंसेवक खटाइएको छ ।
क्षेत्रीय निर्देशक डा. प्याकुरेलले नेपाल पत्रकार महासङ्घ डोटी शाखाका पूर्व अध्यक्ष टेकेन्द्र देउवामार्फत सो औषधी सेवन गरेका थिए ।
सो अवसरमा पूर्व अध्यक्ष देउवाले भने– ‘राम्रा कुराको प्रचार गर्न समय लाग्दो रहेछ, नराम्रो कुरा क्षणभर मै फैलिहाल्छ ।’
आइतबार नै क्षेत्रीय स्वास्थ्य निर्देशक डा. प्याकुरेलले धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकाका बुथहरूमा अनुगमन गरेका थिए ।

 

सम्बन्धित समाचार 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार