१२ बैशाख २०८१, बुधबार

श्रीमती मार्ने पक्राउपछि सार्वजनिक



धनगढी  ।  जिल्ला प्रहरी कार्यालय कैलालीले श्रीमतीलाई मार्ने धनगढी उपमहानगरपालिका १० जुगेडा सी गाउँमा बस्दै आएका २२ वर्षीय हिम्मत सिंहलाई मङ्गलवार पक्राउ गरी बुधवार सार्वजनिक गरेको छ ।
सिंहले पुस २८ गते भगाएर ल्याएकी १६ वर्षीय अञ्जना सिंहलाई घरभित्रै डोरी घाँटीमा बाँधी माघ २७ गते मारेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक तथा प्रमुख अर्जुन चन्दले जानकारी दिए ।
‘श्रीमान् सिंहले २७ गते राती आफ्नै श्रीमतीलाई मारी २९ गतेनै हराएको भनेर इलाका प्रहरी कार्यालयमा खोजविनका लागि निवेदन दिएका थिए’ प्रहरी प्रमुख चन्दले भने ‘पाँच दिनसम्म पनि नभेटेपछि मृतकका आफ्न्तले जिल्ला प्रहरी कार्यालयमा खोजविनका लागि निवेदन दिएपछि प्रहरीले सूक्ष्म अध्ययन गर्दा श्रीमान् सिंहलेनै उनलाई मारेको पाइएको हो ।’ श्रीमान् सिंहलाई पक्राउ गरी घर वरपर छानविन गर्दा मारेको खुलेको प्रहरी प्रमुख चन्दले बताए । ‘सिंहले आफ्नो श्रीमतीलाई मारेर घरभन्दा अन्दाजी एक सय मिटर पश्चिम खोला किनारमा खाल्डोमा पुरेको अवस्थामा मङ्गलवार शव फेला पारेको हौँ’ उनले भने ।
सिंहले योजना बनाएर नै श्रीमती सिंहलाई मारेको स्वीकार गरेका छन् । ‘श्रीमती सिंहलाई ल्याएदेखि महिनाबारी भएन्’ अभियूक्त श्रीमान् सिंहले प्रहरीको बयानमा भनेका छन् ‘महिनावारीको कुरा श्रीमतीसंग गर्दा चार/पाँच महिनामा एक पटक हुने गरेको बताएपछि उसको गर्भ छ की भन्ने आशंकाले राती योजना बनाएर मारे ।’ उनले आफूले अन्य नशा लिएको र राती एक बजे श्रीमतीलाई डोरी घाँटीमा बाधेर मारी घरभन्दा एक सय मिटर पर लगेर खाल्टोमा गाडेको स्वीकार गरेको प्रहरी प्रमुख चन्दले बताए ।
प्रहरीले अभियूक्त श्रीमान् सिंहमाथि कर्तव्य ज्यान मुद्दा अन्र्तगत बुधबारनै जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान गरिरहेको बताए ।
यता, मृतक सिंहका आफ्न्तहरूले श्रीमान् सिंहमात्र नभई उसका आफ्न्तहरूको पनि संलग्न रहेको भन्दै कारबाहीको माग गर्दै बुधवार जिल्ला प्रहरी कार्यालय कैलाली र जिल्ला प्रशासन कार्यालयमा एक घण्टा नाराबाजीसहित कार्यालय घेराउ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार